प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लिग चरणका सबै खेल सकिएका छन्।
बुधबार लिग चरणका दुई खेल भएका छन्। जनकपुरमा भएको खेलमा त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई एक विकेटले हराएको छ। वीरगञ्जमा भएको खेलमा मधेस प्रदेशले नेपाल प्रहरी क्लबलाई चार विकेटले पराजित गरेको छ।
लिग चरणको खेल सकिएपछि अब आर्मीले उपाधिका लागि शुक्रबार सुदूरपश्चिम प्रदेशसँग खेल्नेछ। सुदूरपश्चिम पहिलो पटक पीएम कपको फाइनल खेल्न लागेको हो।
लिग चरणका खेल सकिएसँगै जय ट्रफी खेल्ने ६ टोलीको पनि टुङ्गो लागेको छ। यसअघि नेपाल क्रिकेट संघ (क्यान) ले शीर्ष चार टोलीलाई जय ट्रफी खेलाउने गथ्र्यो। अर्को सिजनबाट ६ टोलीले खेल्नेछन्।
पीएम कपको फाइनलमा पुगेका आर्मी र सुदूरपश्चिमसँगै एपीएफ, मधेस, लुम्बिनी र नेपाल पुलिस क्लबले जय ट्रफीको अर्को संस्करणमा प्रतिस्पर्धा गर्नेछन्।
लुम्बिनी, पुलिस र गण्डकीको समान ९ अंक भएपछि नेट रनरेटमा अघि रहँदै लुम्बिनी र पुलिस जय ट्रफीका लागि छनोट भएका हुन्। नेट रनरेटमा पछि पर्दै गण्डकी सातौँ स्थानमा रह्यो।
गण्डकीसँगै पीएम कपको च्याम्पियन बागमती प्रदेश, कर्णाली र कोशी प्रदेश जय ट्रफीको दौडबाट बाहिरिए। जनकपुरमा भएको खेलमा लुम्बिनीले दिएको १३९ रनको लक्ष्य आर्मीले २५.२ ओभरमा नौ विकेटको क्षतिमा भेट्टायो।
आर्मीका कुशल मल्लले ४१ रन बनाए। अर्जुन साउद २८, भीम सार्की १८, इमरान शेखले १६ तथा तृतराज दास र जितेन्द्र ठकुरीले समान १० रन थपे। लुम्बिनीका सन्तोष यादवले पाँच र निर्मल गुरुङले चार विकेट लिए।
त्यसअघि जनकपुरको रामजानकी बहुउद्देशीय रंगशालामा टस जितेर ब्याटिङ गरेको लुम्बिनी प्रदेश ३९.२ ओभरमा १३८ रन बनाउँदा अलआउट हुन पुग्यो। आर्मीका कुशल मल्लले चार विकेट लिए। नरेन साउँद र भीम सार्कीले समान दुई विकेट लिए। साहब आलम र बसिर अहमदले समान एक विकेट लिए।

प्रतिक्रिया