प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित विभिन्न स्थानबाट ११ जनालाई पक्राउ गरेको छ।
बुधबार प्रहरी प्रधान कार्यालयद्वारा जारी बुलेटिनमा काठमाडौँ सहित देशका विभिन्न भागबाट लागु औषधसहित उनीहरूलाई नियन्त्रणमा लिइएको उल्लेख छ।
काठमाडौँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध लागुऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ८ किलो ५ सय ६० ग्राम सहित भारतीय नागरिक २२ वर्षीय अक्षय कुमारलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। थाई एयरको उडानद्वारा बैंङककबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरो समेतबाट खटिएको प्रहरीले उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका २ भुरेलीबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय भुवन केसीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बाङ्गेसिमलबाट खटिएको प्रहरी उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
कैलाली, बर्दगोरिया गाउँपालिका-१ टिनबजारबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भजनी नगरपालिका–६ बसाहा बस्ने २२ वर्षीय अभिषेक चौधरी र २१ वर्षीय श्रवण कुमार चौधरी रहेका छन्। इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी कैलाली, टीकापुर नगरपालिका–२ राजीपुरबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय रोशन जनालालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो।
तनहुँ, शुक्लागण्डकी नगरपालिका-३ कवासेटारबाट नियन्त्रित लागुऔषध नोर्फिन १५ एम्पुल, डाइजेपाम १९ एम्पुल र फेनारगन १३ एम्पुल सहित सोही नगरपालिका–४ बस्ने ३५ वर्षीय मार्क श्रेष्ठलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो। साथै प्रहरीले थप अनुसन्धानको लागि २ जनालाई नियन्त्रणमा लिएको छ।
कास्की, पोखरा महानगरपालिका-९ पृथ्वीचोकबाट नियन्त्रित लागुऔषध डाइजेपाम ४ एम्पुल, फेनारगन ४ एम्पुल, नोर्फिन ४ एम्पुल र अवैध लागुऔषध गाँजा १ सय ग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१७ बस्ने ४२ वर्षीय मनोज आले मगर र सोही महानगरपालिका-१४ चाउथे बस्ने २८ वर्षीय सन्देश गुरूङ रहेका छन्। वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
ललितपुर, ललितपुर महानगरपालिका-२७ चिबहालबाट नियन्त्रित लागुऔषध ट्रामाडोल २० ट्याब्लेट सहित गोदावरी नगरपालिका–१३ लेले बस्ने २२ वर्षीय शिवा भण्डारी समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले बा८४ प १९१३ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागुऔषध सहित यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
Shares

प्रतिक्रिया