खेल


ओपनर अर्जुनको शतकमा लुम्बिनीलाई गण्डकीले हरायो

ओपनर अर्जुनको शतकमा लुम्बिनीलाई गण्डकीले हरायो

नेपालखबर
चैत २९, २०८२ आइतबार १६:५१, काठमाडौँ

ओपनर अर्जुन कुमालको शतकमा गण्डकी प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता लुम्बिनी प्रदेशलाई पराजित गरेको छ।

आइतबार भएको खेलमा गण्डकीले लुम्बिनी प्रदेशमाथि ८ विकेटको फराकिलो जित दर्ता गरेको हो।

लुम्बिनीमाथि जितको बाबजुद पनि गण्डकी प्रदेशलाई जय ट्रफी खेल्ने सम्भावना कायम राख्न अर्को खेलमा जितको विकल्प छैन भने अन्य खेलको नतिजामा समेत भर पर्नुपर्नेछ। 

गण्डकीले ८ खेलमध्य तीन खेलमा जित, ४ खेलमा हार र एक खेलमा अंक बाँड्दै सात अंकमा तालिकाको आठौँ स्थानमा छ। गण्डकीले अब आफ्नो अन्तिम खेलमा कर्णाली प्रदेशसँग खेल्ने तालिका छ। 

गण्डकीसँग हारको बाबजुद पनि लुम्बिनी प्रदेशले जय ट्रफी खेल्ने सम्भावनालाई कायम राखेको छ। पिएम कपका शीर्ष ६ टोलीले जय ट्रफी खेल्नेछन्। 

लुम्बिनीले पिएम कपमा अझै २ खेल खेल्न बाँकी छ। लुम्बिनीले सात खेलमा ३ खेलमा जित र ३ खेलमा हार भोग्दा एक खेलमा अंक बाँडेको छ। लुम्बिनीले अब मंगलबार बागमती प्रदेश र बुधबार त्रिभुवन आर्मी क्लबसँग खेल्ने तालिका छ। 

लुम्बिनीले दिएको २ सय ८ रनको लक्ष्य गण्डकीले ४४.१ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। गण्डकीका लागि ओपनर अर्जुन कुमालले १ सय ३ रनको अविजित पारी खेले। अर्जुनले १ सय ३० बलमा १३ चौका र १ छक्का प्रहार गरे। 

जारी पिएम कपमा अर्जुनको यो दोस्रो शतक हो। अर्जुन जारी पिएम कपमा सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा छन्। सिवरिन श्रेष्ठले ४३ रन बनाउँदा क्याच आउट हुन पुगे। दिपक डुम्रे २५ रनमा नटआउट रहे। मुस्कान थापा २३ रनमा क्याच आउट भए। 

लुम्बिनीका सन्तोष यादव र दिनेश बोहोराले समान एक विकेट लिए। त्यसअघि विरगञ्जको नारायणी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले ४५ ओभरमा २ सय ७ रन बनाउँदा अल आउट भयो। 

लुम्बिनीका सन्तोष यादवले ८२ र सलाहुद्दीन खानले ६० रन बनाए। दिनेश बोहोराले २० र कप्तान देव खनालले १४ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। लुम्बिनीलाई कम स्कोरमा रोक्न गण्डकीका विपिन खत्रीले ४ विकेट लिए। उनले ९ ओभरमा २ मेडन राख्दै ३७ रन दिए। 

अपराजित पौडेलले ३ विकेट लिए। सिवरिन श्रेष्ठले २ तथा विश्व कार्कीले एक विकेट आफ्नो नाममा गरे। उनले ४ सय ९८ रन बनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad