खेल


पुलिसलाई हराउँदै सुदूरपश्चिमले बलियो बनायो फाइनल सम्भावना

पुलिसलाई हराउँदै सुदूरपश्चिमले बलियो बनायो फाइनल सम्भावना

नेपालखबर
चैत २९, २०८२ आइतबार १६:२४, काठमाडौँ

नेपाल पुलिस क्लबलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। 

आइतबार भएको खेलमा सुदूरपश्चिमले पुलिस क्लबलाई ५६ रनले हराएपछि फाइनल खेल्ने सम्भावना बलियो बनाएको हो।

पीएम कपमा आफ्नो सबै खेल खेलिसकेको सुदूरपश्चिमले ६ खेलमा जित र ३ खेलमा हार भोगेको सुदूरपश्चिम १२ अंकमा तालिकाको दोस्रो स्थानमा छ। यद्यपी सुदूरपश्चिमले फाइनल खेल्न मधेश प्रदेशको बाँकी दुई खेलको नतिजा पर्खनु पर्ने भएको छ। 

पीएम कपमा सात खेल मात्र खेलेको मधेश ९ अंकमा तालिकाको चौथो स्थानमा छ। मधेशले बाँकी खेलमा हार भोगेको अवस्थामा सुदूरपश्चिमले फाइनल खेल्न पाउनेछ। तर मधेशले बाँकी २ खेलमा जित निकाले सुदूरपश्चिम उपाधि दौडबाट बाहिरिनेछ। मधेशले एक खेलमा जित र एक खेलमा हार भोगेको अवस्थामा सुदूरपश्चि फाइनलमा पुग्नेछ। 

सुदूरपश्चिमसँग हार भोगेको पुलिस क्लब भने एक खेल अगावै उपाधि दौडबाट बाहिरिएको छ। पुलिस क्लबले ८ खेलमध्य ४ खेलमा जित र ३ खेलमा हार र एक खेलमा अंक बाँड्दै ९ अंकमा तालिकाको तेस्रो स्थानमा छ। पुलिस क्लबले अब अन्तिम खेलमा मधेश प्रदेशसँग खेल्ने तालिका छ। पुलिसले सो खेलमा जित निकालेपनि फाइनल पुग्न भने सक्नेछैन।

पीएम कपको अहिलेसम्मको खेलको अंक गणितलाई हेर्दा त्रिभुवन आर्मी क्लब २ खेल अगावै फाइनलमा पुगेको छ। पीएम कपमा अपराजित रहेको आर्मीले ६ खेलमा जित र एक खेलमा अंक बाँड्दै १३ अंकमा तालिकाको शीर्ष स्थानमा छ। आर्मीले अब सोमबार कोशी प्रदेश र लुम्बिनी प्रदेशसँग खेल्ने तालिका छ। 

बाँकी २ खेलमा जित निकाले आर्मी अपराजित रहँदै शीर्ष स्थानमा रहेर फाइनल खेल्ने टोली बन्नेछ। जनकपुरका भएको खेलमा सुदूरपश्चिमले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको पुलिस क्लबले ३५.१ ओभरमा १ सय ३५ रन बनाउँदा अलआउट भयो। 

पुलिस क्लबका गुल्सन झा ले अर्धशतक पूरा गरे। अमित श्रेष्ठ, कप्तान आरिफ शेख र दिलसाद अलीले समान १९ रन बनाए। दिनेश खरेल र शंकर रानाले समान १० रन थपे। पाँच ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

सुदूरपश्चिमका हेमन्त धामी र शेर मल्लले समान ३ विकेट लिए। नारायण जोशी, अशोक धामी र खडक बोहोराले समान एक विकेट लिए। 

त्यसअघि रामजानकी बहुउदेश्यीय स्टेडियममा पुलिस क्लबले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिमले ४०.४ ओभरमा १ सय ९१ रन बनाउँदा अलआउट हुन पुग्यो। सुदूरपश्चिमका नारायण जोशीले सर्वाधिक २ रनको योगदान दिए। खडक बोहोराले २२, हेमन्त धामीले २०, अशोक धामीले १, किरण ठगुन्नाले १७ र राजु रिजालले १६ रन बनाए। 

पुलिस क्लबका लागि दिनेश खरेलले ४ विकेट लिए। उनले ९ ओभरमा १ मेडन राख्लै १७ रन दिए। सागर ढकालले ३ विकेट लिए। कुशल भुर्तेलले २ तथा गुल्सन झा ले १ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad