कोरोना भाइरसका कारण वेष्ट इण्डिज महिला क्रिकेट टिम र दक्षिण अफ्रिका महिला टिमबीचको एक दिवसीय क्रिकेट सिरिज स्थगित भएको छ।
कोरोना भाइरसको महामारीको कारण यही महिनाको अन्तिममा हुने सिरिज स्थगित गरिएको हो। दुई टोलीबीच पाँच खेलको एकदिवसीय सिरिज हुने तालिका थियो। सिरिज वेष्ट इन्डिजको घरेलु मैदान जमैका र त्रिनिडाडमा गर्ने तयारी थियो।
यो सिरिजलाई श्रीलंकामा आगामी जुलाईमा हुने आईसीसी वुमन्स विश्वकप क्रिकेट छनोटको तयारीका रुपमा लिइएको थियो। कोरोना भाइरसका कारण आईसीसीले महिला विश्वकप समेत स्थगित गरिसकेको छ।
महिला विश्वकपका लागि दक्षिण अफ्रिकाले भने स्थान बनाइसकेको छ। न्युजिल्याण्डमा हुने छनोट खेलका शीर्ष ३ टोलीले विश्वकपका लागि स्थान बनाउनेछन्।
यस्तै कोरोना भाइरस कै कारण विश्वव्यापी स्वास्थ्य संकटलाई मध्यनजर गर्दै वेष्ट इन्डिज र साउथ अफ्रिकाको पुरुष ए टोलीको भ्रमण पनि रद्द गरिएको छ। खेल आगामी जुनमा वेष्ट इन्डिजको घरेलु मैदान अँटिगामा हुने तालिका थियो।
दुवै टोलीका खेलाडी र कोचिङ स्टाफको स्वास्थ्यलाई ध्यानमा राख्दै प्रतियोगिता रद्द गरेको वेष्ट इन्डिजका प्रबन्धनिर्देशक जोनी ग्रभले भने। पुरुष र महिला टोलीको खेलको बारेमा आफुहरुले छलफल गरेर नयाँ मिती सार्वजनिक गर्ने उनले बताए।
प्रतिक्रिया