उच्च प्रदर्शनको अपेक्षासहित भारतको मुम्बई आइपुगेको नेपाली क्रिकेट टोली अन्तिम खेलअघि नै विश्वकप दौडबाट बाहिरिएको छ।
४ रनको हारका बाबजुद इङ्ल्यान्डसँगको खेलबाट चौतर्फी प्रशंसा पाएको नेपाली टोलीले इटाली र वेस्ट इण्डिजसँगको पराजयबाट समर्थक निराश बनाएको छ।
नेपालसहित विभिन्न देशबाट राष्ट्रिय टोलीको जर्सी लगाएर वानखेडे स्टेडियम आएका हजारौँ समर्थक मन अमिलो गरेर फर्केका छन्। पहिलो पटक विश्वकप खेलिरहेको इटालीसँगको १० विकेटको हारलाई समर्थक अहिले पनि सहज रुपमा लिन सकेका छैनन्।
आइतबार वेस्ट इन्डिजसँग उच्च प्रदर्शनको झिनो अपेक्षा पनि पूरा भएन। नेपालले ९ विकेटले पराजय भोग्यो।
वेस्ट इन्डिजसँग मौका पाएपछि नेपालले खेलेका सबै ३ वटा विश्वकप खेल्ने कीर्तिमान बनाएका सोमपाल कामीले पनि टोलीले आफूहरूले क्षमता प्रदर्शन गर्न नसकेको स्वीकार गरे।
वेस्ट इन्डिजसँगको खेलअघि नेपाली टोलीका मुख्य प्रशिक्षक स्टुआर्ट ल ले नतिजा भन्दा पनि प्रदर्शन कस्तो हुन्छ भन्ने बढी महत्वपूर्ण हुने बताएका थिए। तर, नेपाली टोलीले कमजोर प्रदर्शनबाट फेरि पनि निराश बनाएको छ।
भारत र श्रीलंकामा जारी आईसीसी टी २० विश्वकप क्रिकेटमा अब नेपालको एक मात्र खेल स्कटल्यान्डसँग बाँकी रहेको छ। नेपाल विश्वकपबाट बाहिरिँदा वेस्ट इण्डिज भने सुपर ८ मा पुग्ने पहिलो टोली बन्यो।
नेपालले अहिलेसम्म तीन पटक टी–२० विश्वकप खेलेको छ र तीनै पटक समूह चरणबाटै बाहिरिएको छ।
नेपालले पहिलो पटक सन् २०१४ को विश्वकपमा अफगानिस्तान र हङकङलाई हराएको थियो। तर बंगलादेशसँग अंक बराबर भए पनि नेट रनरेटमा पछि परेपछि नेपाल अघिल्लो चरणमा पुग्न सकेन।
त्यसपछि १० वर्षपछि सन् २०२४ मा भएको विश्वकपमा पनि नेपाल समूह चरणबाटै बाहिरिएको थियो। त्यसबेला नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो।
लगातार दुई संस्करणको ६ खेलमा हार बेहोरेपछि स्वभाविक रुपमा खेलाडीको प्रदर्शनलाई लिएर प्रश्न उठ्न थालेको छ। ब्याटिङ र बलिङ दुवैमा नेपाली टोलीले राम्रो प्रदर्शन गर्न सकेको छैन।
यसपटक ३ खेलमा एक रनआउटसहित ८ विकेट मात्र लिन सक्यो। बलिङमा नन्दन यादवले ३, दीपेन्द्र सिंह ऐरीले २ तथा सन्दीप लामिछाने र शेर मल्लले समान १ विकेट लिए।
दीपेन्द्रबाहेकका लागि यसपटकको यात्रा बिर्सनलायक रह्यो। दबाबका बीच दीपेन्द्रले वेस्ट इन्डिज विरुद्ध अर्धशतक बनाए। २०१४ मा सुवास खकुरेलले अर्धशतक बनाएयता नेपालका लागि विश्वकपमा ५० रन पूरा गर्ने दीपेन्द्र पहिलो खेलाडी बने।
अब समूह चरणको अन्तिम खेलमा नेपालले स्कटल्यान्ड सँग खेल्नेछ। सो खेलमा नेपालले सान्त्वना जित निकाल्ने आशा गरिएको छ। तर समग्र प्रदर्शन हेर्दा नेपाल फेरि एकपटक उल्लेखनीय सफलता बिना नै विश्वकप यात्रा टुंगाउने अवस्थामा पुगेको छ।
Shares

प्रतिक्रिया