२५औँ आहा रारा गोल्डकपमा आयोजक सहारा क्लब पोखराले विजयी सुरुवात गरेको छ। सहाराको लागि प्रसन्न श्रेष्ठले निर्णायक गोल गरे।
श्रेष्ठले निर्धारित समय सकिएपछिको थपिएको चौथो मिनेटमा करिब ४० यार्डबाट गरेको प्रहार गोलमा परिणत हुँदा पाहुना टोली गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङ निराश बन्नु परेको हो। जीतसँगै आयोजक सहारा क्वाटरफाइनलमा प्रवेश गरेको छ।
सहाराले क्वाटरफाइनलमा नेपाल पुलिस क्लवको सामना गर्नेछ। विजयी गोल गरेका प्रसन्न मंगलबारको प्लेयर अफ द म्याच पनि घोषित भए।
प्रतियोगितामा ३ विदेशीसहित १२ टिम सहभागी छन्। प्रतियोगिताअन्तर्गत बुधबार जाउलाखेल युथ र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।
२५औँ संस्करणको प्रतियोगिता फ्लड लाइट कृतिम उज्यालोमा राति खेलाइएइको थियो। तर, आवश्यक तयारी नपुगेकाले मंगलबारको उद्घाटन खेलमा मैदान झलमल्ल देखिएन। दुवै टिमलाई लाइटबारे कुनै गुनासो नगर्ने सर्तमा प्रतियोगिताको उद्घाटन खेल खेलाइएको थियो।
२५ वर्षदेखि निरन्तर हुँदै आएको प्रतियोगिताका दर्शकहरूलाई चाहिँ मैदानमा भएको प्रकाश अभावले खुसी बनाएन।
प्रितिलाई सम्मान
सहारा क्लबले प्रदान गर्दै आएको सहारा वर्ष उत्कृष्ट खेलाडीबाट यो वर्ष प्रीति राई सम्मानित भएकी छन्। उनलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा महानरपालिकाका मेयर धनराज आचार्यले ५१ हजार नगदसहित सम्मानित गरे।
यसअघि फुटबलर आयुष घलान, भरत खवास, किरणकुमार लिम्बु, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन बिष्ट र अनन्त तामाङ सहारा वर्षोत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित भइसकेका छन्। यस्तै सहाराले उद्घाटनकै अवसरमा क्लबलाई सघाउने विभिन्न २५ जना व्यक्तिलाई पनि सम्मान प्रदान गरेको छ।
Shares

प्रतिक्रिया