नेपाली क्रिकेटका संकटमोचक मानिने अलराउन्डर दीपेन्द्र सिंह ऐरीले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा नयाँ इतिहास रचेका छन्। आईसीसी टी–२० विश्वकपअन्तर्गत मुम्बईको ऐतिहासिक वानखेडे स्टेडियममा आइतबार इंग्ल्यान्डविरुद्ध ४४ रनको इनिङ्स खेल्दै दीपेन्द्र टी–२० अन्तर्ष्ट्रियमा २ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बनेका हुन्।
विश्वकपको मञ्च र क्रिकेटको मक्का मानिने वानखेडेमा दीपेन्द्रले ३३ बल खेल्दै ६ चौका र १ छक्का प्रहार गरे। उनी १४.२ ओभरमा साम करनको बलमा क्याच आउट हुनुअघि नेपालको इनिङ्स सम्हालिरहेका थिए। यही इनिङ्सका क्रममा उनले व्यक्तिगत ९ रन जोडेपछि २ हजार रनको आँकडा पार गरेका थिए।
तथ्याङ्कमा दीपेन्द्रको यात्रा
सन् २०१७ मा केन्याविरुद्धको खेलबाट डेब्यु गरेका दीपेन्द्रले ९१ खेलका ७९ इनिङ्समा यो उपलब्धि हासिल गरेका हुन्। उनको नाममा अहिले १ शतक र १० अर्धशतक सहित कुल २ हजार ३५ रन छ। टी–२० अन्तर्ष्ट्रियमा उनको उच्च स्कोर ११० रन हो।
दीपेन्द्रको यो सफलता केवल रनमा मात्र सीमित छैन। उनले यसअघि नै मङ्गोलियाविरुद्धको खेलमा ९ बलमा अर्धशतक प्रहार गरी युवराज सिंहको १७ वर्ष पुरानो विश्व कीर्तिमान तोडेका थिए। यस्तै, कतारविरुद्धको खेलमा एकै ओभरमा ६ छक्का प्रहार गरेर उनी विश्वकै यस्तो उपलब्धि हासिल गर्ने तेस्रो खेलाडी समेत बनेका थिए।
नेपाली ब्याटरहरूमध्ये दीपेन्द्रपछि सर्वाधिक रन बनाउने सूचीमा पूर्वकप्तान पारस खड्का (७९९ रन), कुशल भुर्तेल (१,१०५ रन) र रोहित पौडेल (१,१७० रन) छन्। तर, २ हजारको क्लबमा पुग्ने दीपेन्द्र एक्लो र सफल खेलाडी बनेका छन्। पछिल्लो दुई वर्षमा दीपेन्द्रले आफ्नो ब्याटिङ औसत र स्ट्राइक रेटमा निकै सुधार गरेका छन्, जसको नतिजा अहिले विश्वकप जस्तो ठूलो प्रतियोगितामा देखिएको छ।
ग्लोबल क्रिकेटमा निकै कम खेलाडीले मात्र यस्तो तथ्याङ्क कायम गरेका छन्। विशेषगरी मध्यक्रममा ब्याटिङ गर्दै २ हजार रनको आँकडा छुनुलाई प्राविधिक रूपमा कठिन मानिन्छ, जुन दीपेन्द्रले सात वर्षको अन्तर्राष्ट्रिय यात्रामा सहजै पूरा गरे। यो उपलब्धिसँगै दीपेन्द्रले विश्व क्रिकेटका चर्चित नामहरू विराट कोहली, बाबर आजम र रोहित शर्मा जस्ता खेलाडीहरूसँगै आफ्नो नाम पनि २ हजार रनको सूचीमा लेखाउन सफल भएका हुन्।
Shares

प्रतिक्रिया