खेल


एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको नयाँ मिति घोषणा

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको नयाँ मिति घोषणा

नेपालखबर
पुस १३, २०८२ आइतबार १७:२२, काठमाडौँ

जेनजी आन्दोलनका कारण स्थगित भएको एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको २२औं संस्करण अर्को साता अर्थात् पुस २३ गते पोखरामा आयोजना हुने भएको छ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै गत भदौ २९ गते प्रभावित अवार्डको नयाँ मिति तय गरेको हो।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण अन्तिम समयमा अवार्ड स्थगित हुन पुगेको थियो। यसैगरी स्पोर्टस् अवार्डमा यति एयरलाइन्स नयाँ प्रायोजकका रूपमा जोडिएको पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले बताए।

यति एयरलाइन्सले अवार्डमा सहभागी हुने मनोनयनमा पर्न सफल खेलाडी, प्रशिक्षक र अतिथिलाई सेवा प्रदान गर्नेछ।

यसैगरी आइतबारकै मितिदेखि अवार्डको महत्वपूर्ण विधाको रुपमा रहेको पिपल्स च्वाइस अवार्डको रोकिएको डिजिटल भोटिङ प्रक्रिया पनि खुला गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो।

मञ्चका महासचिव अञ्जन खड्काले भने, ‘विगतमा पिपल्स च्वाइसको मनोनयनमा रहेका खेलाडीले जति भोट प्राप्त गरेका थिए। त्यहींबाट भोटिङ प्रकृया फेरि सुरु हुनेछ।’ यस विधाको प्रतिस्पर्धामा उसुका विजय सिन्जाली, क्रिकेटकी पूजा महतो, भलिबलका हिमाल सुनारी, फुटबलकी रेखा पौडेल र टेबलटेनिसकी इभाना थापा रहेका छन्।

स्पोर्टस् समिट हुने
स्पोर्टस् अवार्ड पोखरास्थित पोखरा सभागृहमा हुनेछ। त्यसको अघिल्लो दिन पुस २२ गते पोखरामा एनएसजेएफ स्पोर्टस समिट हुनेछ।

मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले अवार्डलाई चलायमान बनाउन स्पोर्टस समिट हुने र त्यसमा पोखराको पर्यटन र खेलकुद इकोनोमीबारे बहस हुने जानकारी गराए।

अवार्डका अन्य विषयहरू यथावत रहेको र केही नयाँ कम्पनीसँग सहकार्य भएको छ। गोल्छा ग्रुपसँगको मुख्य प्रायोजकको सम्झौताअनुरुप सहकार्य हुने नै छ। पोखरा महानगरपालिकाले अवार्डमा सहकार्य गर्नेछ। पोखरा महानगरका प्रमुख धनराज आचार्यसँग सहकार्यका लागि लिखित सम्झौता भइसकेको छ।

त्यसबाहेक सूर्य नेपाल प्रालि, डिटिजल भोटिङ पार्टनर आईएमई खल्ती डिजिटल वालेट, केल्मी नेपाल, इमेजिड, राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी, बागमती प्रदेश खेलकुद विकास परिषद्, नेपाल पर्यटन बोर्ड र आईएमई हस्पिटालिटी पनि पार्टनरको रूपमा रहेका छन्।

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड– २०८१ मा १० विधामा अवार्ड प्रदान गरिने छ। त्यसमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड र टिम अफ द इयर रहेको छ।

वर्ष खेलाडी पुरुष/महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा गरी पाँच विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ। अन्य विधाका विजेतालाई जनही एक लाख रुपैयाँ प्रदान गरिनेछ। अवार्ड कार्यक्रमलाई सफल बनाउन मञ्चका अध्यक्ष निरन्जन अधिकारीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad