तीन पाकिस्तानी खेलाडीको साथ पाएको हेल्प नेपाल स्पोर्टस क्लबले नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा सुखद् शुरुवात गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा पुरुषतर्फ हेल्प नेपालले उद्घाटन खेलमा विभागीय टोली एपीएफ क्लवमाथि ३–० को सोझो सेटमा जित निकाल्दै सुखद् शुरुवात गरेको हो। शुक्रबारदेखि शुरु भएको च्याम्पियनसिपमा समूह ‘ए’ को हेल्प नेपाल विभागीय टोलीमाथि पूर्ण हाबी भयो।
साथै टोली सम्मिलित समूहमा जितसँगै क्वार्टरफाइनलमा सम्भावना बलियो बनाएको छ। डिफेन्डिङ च्याम्पियनसमेत रहेको हेल्प नेपाल स्पोर्टस क्लब ९ संस्करणमध्ये सातौं पल्टको च्याम्पियन हो। हेल्प नेपाल २०७३ साल ९तेस्रो संस्करण० मा पहिलोपल्ट च्याम्पियन भएको थियो। त्यसयता नेपालको घरेलु प्रतियोगितामा हेल्प नेपालले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ।
अनुभवी तीन पाकिस्तानी खेलाडीको साथ पाएको यस संस्करणमा पनि हेल्प नेपालले उत्कृष्ट सुरुआत गरेको छ। युवा खेलाडीले भरिएको एपिएफले चुनौती दिने प्रयास गरे पनि सफल भएन। एपिएफ पहिलो सेटमा २५–२१ ले पछि पर्यो। त्यस पछिको दुई सेटमा पनि एपिएफ पुनरागमन गर्न असफल भयो।
हेल्प नेपालले दोस्रो र तेस्रो सेट क्रमशः २५–२० र २५–२० को सेटमा आफ्नो बनायो। अब हेल्प नेपालले समूहको दोस्रो खेल मणिमुकुन्द क्लबसँग आगामी सोमबार खेल्नेछ। पुरुषतर्फ कुल १२ टोली छन् र जसलाई चार समूहमा विभाजन गरिएको छ। शुक्रबार नै पुरुषतर्फ भएको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले ढोरपाटन क्लबमाथि ३–१ को सेटमा जित निकाल्यो।
समूह ‘बी’ को खेलमा पुलिसले पहिलो दुई सेट २५–२० र २५–१४ ले सहजै आफ्नो पक्षमा पार्यो। तर तेस्रो सेट भने लामो समयसम्म चल्यो। यो सेटमा ढोरपाटनले ३५–३३ ले आफ्नो बनाउँदै सेटमा फर्कने संकेत गर्यो।
तथापि, पुलिसले चौथो सेट २५–१४ ले सहजै आफ्नो पक्षमा राख्दै ढोरपाटनको लक्ष्य पूरा हुन दिएन। महिलातर्फ पनि विभागीय टोलीले सुखद् शुरुवात गरेका छन्।
समूह ‘ए’ को त्रिभूवन आर्मी क्लवले एभरेस्ट भलिबल क्लवलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। आर्मीकी महत्वपूर्ण खेलाडी सफिया पुन बिहीवार मात्र अस्ट्रेलिया प्रस्थान गरेकी थिइन्। तर आर्मीले त्यसको क्षति व्यहोर्नु परेन। पहिलो खेलमा सहजै जित निकाल्यो।
आर्मीले २५–१६, २५–१४ र तेस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको हो। महिलामा कुल ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूहमा शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा पुग्नेछन्। पहिलो खेलमा जित निकाल्दै आर्मीले समूहचरण पार गर्ने संकेत गरेको छ। यो समूहमा चुली युवा क्लब र न्यू डायमण्ड युथ स्पोर्टस क्लब छन्।
शनिबार यी दुई टोली नै प्रतिष्पर्धा गर्दैछन्। यसै प्रतियोगिताबाट झन्डै साढे दुई वर्षपछि प्रतिभा मालीले खेल्दैछिन्। महिलामा नै नेपाल पुलिसले सुदूरपश्चिम प्रदेशलाई ३–० को सेटमा पराजित गरेको हो। पुलिसले २५–१०, २५–६ र २५–११ ले आफ्नो पक्षमा पार्न सफल भयो। यो समूहमा एपिएफ र मधेस प्रदेश स्पोर्टस काउन्सिल छन्।
Shares

प्रतिक्रिया