नेपाल प्रिमियर लिग दोस्रो संस्करणको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको लक्ष्य दिएको छ।
कप्तान रोहित पौडेलको ह्याट्रिक विकेट लिएपछि लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि जित्नका लागि सुदूरपश्चिम रोयल्सबाट ८६ रनको सामान्य लक्ष्य पाएको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम ४ बलअगावै ८५ रन बनाउँदा अलआउट भयो। जारी एनपीएलमा बनेको यो सबैभन्दा कम योगफल हो।
लगातार दोस्रो पटक उपाधि नजिक पुगेको सुदूरपश्चिम उपाधि उचाल्न चाहन्छ। तर फाइनलमा सुदूरपश्चिमले सिजनकै खराब प्रदर्शन गरेको छ।
सुदूरपश्चिमले पावर प्लेमा ३ विकेट गुमाएर मात्र २० रन बनाएको थियो। सुदूरपश्चिमलाई कम स्कोरमा रोक्न लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिए।
रोहितले एघारौँ ओभरको चौथो बलमा दीपेन्द्र सिंह ऐरीलाई १३ रन बनाउँदा रुबेन ट्रम्पलम्यानको हातबाट क्याच आउट गराए।
सोही ओभरको पाँचौँ बलमा दीपक बोहोरालाई शून्य रनमा नै सन्दीप जोराको हातबाट क्याच आउट गराए। अन्तिम बलमा पुनित मेहरालाई शून्य रनमा एलबीडब्लु धरापमा पार्दै ह्याट्रिक विकेट लिए।
जारी एनपीएलमा ह्याट्रिक विकेट लिने रोहित दोस्रो खेलाडी हुन्। यसअघि काठमाडौंका साहब आलमले पोखरा एभेन्जर्सविरुद्धको खेलमा ह्याट्रिकसहित ६ विकेट झारेका थिए।
खेलमा शेर मल्लले तीन विकेट आफ्नो नाममा गरे। उनले सुदूरपश्चिमका आरिफ शेख, हरमित सिंह र ईशान पाण्डेलाई आउट गरे।
रुवेनले तिन विकेट आफ्नो नाममा गरे। रुवेनले पहिलो ओभरको अन्तिम बलमा ओपनर विनोद भण्डारीलाई शुन्य रनमा नै पेभेलियनको बाटो देखाए। तेस्रो ओभरको तेस्रो बलमा सेल्डन ज्याक्सनलाई एक रन बनाउँदा एलबीडब्लू धरापमा पारे। तिलक भण्डारीले एक विकेट झारे।
सुदूरपश्चिमका लागि ओपनर इसान पाण्डेले ५१ बलमा १ चौका सहयोगमा बनाएको ३३ रन नै सर्वाधिक रह्यो।
कप्तान दिपेन्द्र सिंह ऐरिले १३ र हरमित सिंह र स्कट कुग्लेजिनले समान १० रन थपे। अन्य कुनै ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
लुम्बिनीले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
Shares

प्रतिक्रिया