सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा सर्वोत्कृष्ट नेपाली खेलाडीलाई प्रदान गरिने कारका लागि पाँच जना दाबेदार रहेका छन्।
एनपीएलको सुरुवातमा विदेशी खेलाडी हाबी रहेका भए पनि पछिल्लो पटक नेपाली खेलाडी उत्कृष्ट प्रदर्शन गरेका छन्। फाइनल खेल मात्रै बाँकी रहँदा तीन जना ब्याटर उत्कृष्ट खेलाडीका लागि दाबेदार छन्। तर, सर्वाधिक रन बनाउने खेलाडीको शीर्षस्थानमा रहेका एडम रोसिङटनको टोली पोखरा एभेन्जर्स लिग चरणबाटै बाहिरिसकेको छ। उनी इङ्ल्यान्डका खेलाडी हुन्।
त्यसैले सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो र तेस्रो स्थानमा रहेका सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी र लुम्बिनी लायन्सका रोहित पौडेल दाबेदार बनेका हुन्।
बलरतर्फ पनि सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष तीन स्थानमा रहेका विराटनगर किंग्सका सन्दीप लामिछाने, सुदूरपश्चिमका अविनाश बोहरा र लुम्बिनी लायन्सका शेर मल्ल छन्। सन्दीपको टोली विराटनगर दुवै क्वालिफायरमा पराजित हुँदै प्रतियोगितबाट बाहिरिइसकेको छ भने अविनाशको सुदूरपश्चिम र शेरको लुम्बिनी उपाधिको दौडमा छ।
ब्याटिङ र बलिङमा यी पाँच जनालाई पछ्याइरहेका अन्य नेपाली खेलाडी धेरै पछाडि छन्। उनीहरूका टोली पनि प्रतियोगिताबाट बाहिरिइसकेका छन्।
उत्कृष्ट प्रदर्शन गरेका नेपाली पाँच खेलाडी:
विनोद भण्डारी
एनपीएलमा कारको दाबेदारमध्ये पहिलो नम्बरमा छन्, विनोद भण्डारी। सुदूरपश्चिम रोयल्सका विकेटकिपर ब्याटर भण्डारी सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो नम्बरमा छन्। उनले आठ खेलमा दुई सय ६४ रन बनाएका छन्।
पहिलो नम्बरमा रहेका पोखरा एभेन्जर्सका एडम रोसिङटनले तीन सय २३ रन बनाएका छन्। एडमले एक शतक र दुई अर्धशतक प्रहार गरेको भए पनि पोखरा लिग चरणबाटै बाहिरिएको थियो।

एनपीएलमा विनोदले दुई वटा अर्धशतक बनाएका छन्। दुवै पटक प्लेअर द म्याच भएका छन्। एनपीएलमा दुई अर्धशतक बनाउने अर्का नेपाली खेलाडी पोखराका कुशल भुर्तेल मात्रै हुन्।
एनपीएलमा विनोदको सुरुवात भने राम्रो रहेन। काठमाडौँ गोर्खाजविरुद्धको पहिलो खेलमा शून्यमा आउट भएका थिए।
त्यसपछि भने उनले लय समाते। दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ४३ र तेस्रो खेलमा कर्णाली याक्सविरुद्ध ११ रन बनाएका विनोदले चौथो खेलमा लुम्बिनी लायन्सविरुद्ध अर्धशतक बनाएका थिए। त्यो खेलमा उनले ६९ रन हानेका थिए। त्यस खेलमा उनी प्लेअर अफ द म्याच पनि भए।
पाँचौ खेलमा जनकपुर बोल्टसविरुद्ध ४२, छैटौं खेलमा चितवन राइनोजविरुद्ध २१ र सातौं खेलमा विराटनगर किंग्सविरुद्ध १५ रन बनाएका थिए।
त्यसपछि पहिलो क्वालिफयारमा विराटनगरविरुद्ध अर्धशतक प्रहार गरेका थिए। त्यो खेलमा उनले ६३ रन हानेका थिए। विराटनगर ७७ रनले पराजित भएको खेलमा विनोद प्लेअर अफ द म्याच पनि भएका थिए।
रोहित पौडेल
एनपीएलमा कारका अर्का दाबेदार हुन्, रोहित पौडेल। लुम्बिनी लायन्सका कप्तान रोहित सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो नम्बरमा छन्। उनले नौ खेलमा दुई सय ६० रन बनाएका छन्। उनको सर्वाधिक स्कोर ४९ रन हो।
एनपीएलमा उनले राम्रो सुरुवात गरेका थिए। चितवनविरुद्धको पहिलो खेलमै ३९ रन हानेका थिए। यो खेलमा लुम्बिनीले चितवनलाई ६ विकेटले पराजित गरेको थियो।

त्यसपछि दोस्रो खेलमा कर्णालीविरुद्ध ४० र तेस्रो खेलमा काठमाडौँविरुद्ध ११ रन बनाएका उनले चौथो खेलमा सुदूरपश्चिमविरुद्ध ३५ रन बनाएका थिए। तथापि, लुम्बिनी तीनै खेलमा हारेको थियो।
लिग चरणबाटै आउट हुने अवस्थामा पुगेको लुम्बिनीका लागि पाँचौ खेलमा उनले ४० रन बनाएका थिए। त्यो खेलमा लुम्बिनीले पोखरालाई तीन विकेटले पराजित गरेको थियो भने रोहित प्लेअर अफ द म्याच भएका थिए।
छैटौं खेलमा शून्यमा आउट भएका रोहितले सातौं खेलमा जनकपुरविरुद्ध ३४ रन बनाए भने दुई विकेट लिए। त्यो खेल पनि लुम्बिनीका लागि ‘गर या मर’को थियो। जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी प्लेअफमा पुगेको थियो भने रोहित प्लेअर अफ द म्याच भएका थिए।
त्यसपछि आठौं खेल अर्थात प्लेअफमा लुम्बिनीले काठमाडौँलाई चार विकेटले हराएको खेलमा रोहितले १८ रन बनाएका थिए। त्यससँगै उनले महत्त्वपूर्ण तीन विकेट पनि लिएका थिए।
दोस्रो क्वालिफायरमा बिहीबार विराटनगरलाई हराउँदा पनि उनले ३४ रन बनाएका थिए। यो खेलमा विराटनगरलाई ४० रन हराउँदै लुम्बिनी फाइलनमा पुगेको हो।
सन्दीप लामिछाने
विराटनगर किंग्स दोस्रो क्वालिफायरमा पराजित भए पनि कप्तान सन्दीप लामिछाने कारको दाबेदार छन्। उनले नौ खेलमा १७ विकेट लिएका छन्। सर्वाधिक विकेट लिनेको सूचीमा उनी शीर्षस्थानमा छन्।
एनपीएलमा ३६ ओभर बलिङ गरेका सन्दीपले एक सय ७७ रन मात्रै खर्चेका छन्। उन औषतमा प्रतिओभर ४.९१ का दरले रन दिएका छन् भने औषतमा १०.४१ प्रतिशतका दरले विकेट लिएका छन्।
एनपीएलमा उनले जनकपुरविरुद्ध उत्कृष्ट बलिङ गरेका थिए। चार ओभर बलिङ गर्दा ११ रन खर्चेर चार विकेट लिएका थिए। त्यस खेलमा उनी प्लेअर अफ द म्याच भएका थिए।

एक खेलबाहेक उनले आठ खेलमा विकेट लिएका छन्। पहिलो खेलमा पोखराविरुद्ध दुई, दोस्रो खेलमा काठमाडौँविरुद्ध एक, तेस्रो खेलमा जनकपुरविरुद्ध चार र चौथो खेलमा चितवनविरुद्ध दुई विकेट लिएका थिए।
त्यस्तै, पाँचौ खेलमा कर्णालीविरुद्ध एक र छैटौ खेलमा लुम्बिनीविरुद्ध दुई विकेट लिएका उनले सातौं खेलमा सुदूरपश्चिमविरुद्ध तीन विकेट लिएका थिए।
पहिलो क्वालिफायरमा सुदूरपश्चिमविरुद्ध विकेटविहीन भएका उनले दोस्रो क्वालिफायरमा लुम्बिनीविरुद्ध दुई विकेट लिएका थिए। तथापि, विराटनगर दुवै क्वालिफायरमा पराजित भएको थियो।
अविनाश बोहरा
कारको दाबेदारका रुपमा रहेका अर्का बलर हुन्, अविनास बोहरा। सुदूरपश्चिम रोयल्सलाई फाइनलमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलका अविनाश सर्वाधिक विकेट लिने बलरको सूचीमा दोस्रो नम्बरमा छन्। उनले आठ खेलमा १६ विकेट लिएका छन्।
एनपीएलका आठ खेलमा २५.१ ओभर बलिङ गरेका उनले एक सय ९४ रन मात्रै खर्चेका छन्। प्रतिओभर ७.७ रन दिएका अविनाशले औषतमा १२.१२ का दरले विकेट लिएका छन्।
उनले जनकपुर बोल्टसविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए। त्यो खेलमा चार ओभर बलिङ गरेका अविनाशले ३० रन खर्चेर चार विकेट लिएका थिए।

अविनाशको एनपीएल यात्रा सम्झनलायक बनेको छ। उनले सबै खेलमा विकेट लिएका छन्।
पहिलो खेलमा काठमाडौँ र दोस्रो खेलमा पोखराविरुद्ध एक–एक विकेट लिएका उनले तेस्रो खेलमा कर्णालीविरुद्ध दुई विकेट लिएका थिए। त्यस्तै, चौथो खेलमा लुम्बिनीविरुद्ध तीन विकेट लिए भने पाँचौ खेलमा जनकपुरविरुद्ध चार विकेट लिए।
छैटौं खेलमा चितवनविरुद्ध एक विकेट लिएका अविनाशले सातौं खेलमा विराटनगरविरुद्ध दुई विकेट लिए। पहिलो क्वालिफायरमा विराटनगरविरुद्ध दुई विकेट लिएका थिए।
शेर मल्ल
एनपीएलमा चम्किएका युवा बलर शेर मल्ल पनि कारको दाबेदार छन्। लुम्बिनी लायन्सको भरपर्दो खेलाडी शेर सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा तेस्रो नम्बरमा छन्। उनले नौ खेलमा १४ विकेट लिएका छन्।
एनपीएलमा ३२ ओभर बलिङ गरेका उनले दुई सय १६ रन खर्चेका छन्। प्रतिओभर औषतमा ६.७५ रन दिएका उनले १५.४२ का औषतले विकेट लिएका छन्।
शेरले काठमाडौं गोर्खाजविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए। चार ओभरमा २२ रन खर्चेर तीन विकेट लिएका थिए। लुम्बिनीले काठमाडौँलाई चार विकेटले पराजित गरेको खेलमा उनी प्लेअर अफ द म्याच भएका थिए।
एनपीएलका नौमध्ये दुई खेलमा मात्रै विकेटविहीन भएका छन्। पहिलो खेलमा चितवनविरुद्ध विकेटविहीन भएका उनले दोस्रो खेलमा कर्णालीविरुद्ध एक विकेट लिएका थिए।

त्यस्तै, तेस्रो खेलमा काठमाडौँविरुद्ध दुई विकेट लिएका उनले २७ रन पनि जोडेका थिए। चौथो खेलमा सुदूरपश्चिमविरुद्ध विकेटविहीन भएका उनले पाँचौ खेलमा पोखराविरुद्ध दुई विकेट लिएका थिए।
विराटनगरविरुद्ध तीन विकेट लिएको छैटौं खेलमा उनी प्लेअर अफ द म्याच पनि भएका थिए। यस खेलमा लुम्बिनीले विराटनगरलाई पाँच विकेटले पराजित गरेको थियो।
सातौँ खेलमा जनकपुरविरुद्ध दुई विकेट लिएर उनले लुम्बिनीलाई प्लेअफमा पुग्न सघाएका थिए। आठौं खेल अर्थात प्लेअफमा काठमाडौँविरुद्ध तीन विकेट लिएका थिए। काठमाडौँलाई चार विकेटले हराएर लुम्बिनी दोस्रो क्वालिफायरमा पुगेको खेलमा उनी प्लेअर अफ द म्याच भएका थिए।
बिहीबार भएको विराटनगरविरुद्धको दोस्रो क्वालिफायरमा पनि उनले एक विकेट लिए भने सात रन बनाए। दोस्रो क्वालिफायरको ‘लो स्कोर’ खेलमा विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा पुगेको छ।
अब उपाधिका लागि फाइनलमा लुम्बिनी र सुदूरपश्चिम प्रतिस्पर्धा गर्नेछ। सन्दीप नेतृत्वको विराटनगर दुई वटा क्वालिफायरमा पराजित हुँदै बाहिरिएको छ।
कारको दाबेदार रहेका पाँच खेलाडीमध्ये सुदूरपश्चिमका विनोद र अविनाश तथा लुम्बिनीका रोहित र शेरको प्रदर्शन उपाधि जित्नका लागि दुवै टोलीलाई महत्त्वपूर्ण हुनेछ।
जारी एनपीएलमा ब्याट नचले पनि बलिङ र फिल्डिङमा राम्रो प्रदर्शन गरिरहेका सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले गत वर्षको एनपीएलमा उत्कृष्ट खेलाडी बन्दै कार जितेका थिए। एनपीएलको पहिलो उपाधि भने सुदूरपश्चिमलाई हराउँदै जनकपुरले जितेको थियो।
Shares

प्रतिक्रिया