खेल


काठमाडौँ ‘प्लेअफ’ नजिक, चौथो हारसँगै कर्णालीलाई कठिन

काठमाडौँ ‘प्लेअफ’ नजिक, चौथो हारसँगै कर्णालीलाई कठिन

सबै तस्बिर : सरोज नेपाल/नेपालखबर


लक्ष्मी जि.सी
मंसिर १४, २०८२ आइतबार १८:४६, काठमाडौँ

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सलाई हराउँदै काठमाडौँ गोर्खाज ‘प्लेअफ’ नजिक पुगेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा  आइतबार कर्णालीलाई हराएसँगै काठमाडौँ अंक तालिको दोस्रो स्थानमा उक्लिएको छ। काठमाडौँको आठ अंक भएको छ भने शीर्षस्थानमा रहेको सुदूरपश्चिम रोयल्सको १० अंक छ। 

यो हारसँगै कर्णालीको ‘प्लेअफ’ यात्रा कठिन भएको छ। कर्णालीले लगातार तेस्रो हार ब्यहोरेको छ। अहिलेसम्म खेलका पाँच खेलमा चौथो हार हो। एक खेल मात्रै जितेको कर्णालीको दुई अंक छ। 

आइतबार भएको खेलमा काठमाडौले कर्णालीलाई पाँच विकेटले पराजित गरेको हो। अब लिग चरणको आफ्नो अन्तिम खेलमा काठमाडौँले बिहीबार पोखरा एभेन्जर्ससँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेल जितेमा ‘प्लेअफ’ सुनिश्चित हुनेछ भने हारेमा अन्य टोलीको नजितामा भर पर्नुपर्नेछ। 

कर्णालीले लिग चरणमा पोखरा र जनकपुर बोल्ट्ससँग खेल्न बाँकी छ। कर्णालीले पोखरासँग बिहीबार र जनकपुरसँग आइतबार खेल्ने तालिका छ। कर्णालीले अब प्लेअफ पुग्नका लागि बाँकी दुई खेलमा जित निकालेर मात्र पर्याप्त हुनेछैन। अन्य खेलको नतिजा पनि आफु अनुकुल आउनुपर्नेछ।

आइतबार कर्णालीले दिएको एक सय ५० रनको लक्ष्य काठमाडौँले १८ ओभरमा पाँच विकेटको क्षतिमा भेट्टायो। चौथो विकेटका लागि जेरहार्ड इरसमस र जोन सिमसनले ८६ रनको साझेदारी गरेपछि काठमाडौँले सहजै लक्ष्य भेट्टाएको हो। 

जोन सिमसनले २१ बलमा चार चौका र दुई छक्काको सहयोगमा ४१ रन बनाउँदा नन्दन यादवको बलमा गुल्सन झाको हातबाट क्याच आउट भए। जेरहार्ड ४३ रनमा नटआउट रहे। उनले ३३ बलमा दुई चौका र दुई छक्का प्रहार गरे। 

त्यस्तै, भीम सार्की ६ रनमा नटआउट रहे। रसिद खान शून्यमा आउट भए। २१ बलमा दुई चौका र तीन छक्काको सहयोगमा ३४ रन बनाएका वेन चार्ल्सवर्थ पवन सर्राफको बलमा बोल्ड आउट भए। मिलिन्द कुमार १५ रनमा रनआउट हुन पुगे। आकाश त्रिपाठी आठ रन बनाउँदा क्याच आउट भए। 

कर्णालीका लागि नन्दन यादवले तीन विकेट लिए। पवन सर्राफले एक विकेट आफ्नो नाममा गरे।  

त्यसअघि टस जितेर ब्याटिङ गरेको कर्णालीले सात विकेटको क्षतिमा एक सय ४९ रनको योगफल तयार पारेको थियो। कर्णालीका लागि गुल्सन झा २२ बलमा ६ चौका र तीन छक्काको सहयोगमा ४९ रन बनाएर अविजित रहे। नन्दन यादव एक रनमा अविजित रहे। 

त्यस्तै, २९ बलमा दुई चौका र दुई छक्का प्रहार गरेका पवन सर्राफ ३५ रन बनाउँदा सन्तोष यादवको बलमा एलबीडब्लूको धरापमा परे। २७ बलमा एक चौका र दुई छक्का प्रहार गरेका ओपनर मार्क वाट ३० रन बनाउँदा रन आउट हुन पुगे। अर्का ओपनर प्रियांक पञ्चाल डकआउट हुन पुगे। 

विलियम बसिस्टो एक रनमा नै रन आउट भए। नजिबुल्लाह जड्रान १२ रन बनाउँदा रसिद खानको बलमा साहब आलमको हातबाट क्याच आउट भए। कप्तान सोमपाल कामी ६ रनमा मिलिन्द कुमारको बलमा कट एन्ड बोल्ट हुन पुगे। दीपक डुम्रे १० रन बनाउँदा रसिद खानको बलमा बोल्ड आउट भए। 

काठमाडौँका लागि रसिद खानले दुई विकेट लिए। करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले एक-एक विकेट लिए। 

एनपीएलमा अब मंगलबार दुई खेल हुनेछ। पहिलो खेलमा चितवन राइनोज र जनकपुर बोल्टस् तथा दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad