नेपाली कांग्रेसको विवाद आज पनि समाधान भएन। सभापति शेरबहादुर देउवाको भाडाको निवास महाराजगञ्जमा भएको ४ घण्टा बढीको छलफलले पनि सहमति नजुटाएको हो।
नेता विमलेन्द्र निधिका अनुसार आजको छलफल विशेष महाधिवेशन रोक्ने र निर्वाचनपछि विशेष महाधिवेशन गर्नेमा केन्द्रित थियो।
'मंसिरमा नसके पुस या माघसम्म गरेर भए पनि नियमित महाधिवेशनको तालिका ल्याएर अघि बढौँ,' सभापति देउवालाई उदृत गर्दै निधिले भने, 'मध्यमार्गको प्रयोग गरौँ। विशेष महाधिवेशन हुँदैन त्यसलाई रोक्नुपर्छ।'
देउवाले आजको बैठकमा महामन्त्री गगनकुमार थापासहित विशेष महाधिवेशन पक्षधरसँग विशेष महाधिवेशनको विषय फिर्ता लिएर अघि बढ्न आग्रह गरेको निधि बताउँछन्।
'मंसिर, पुस जुन महिनामा भए पनि नियमित नै गर्ने र विशेष महाधिवेशन नगर्ने, विशेष माग गर्नेहरूलाई फिर्ता लिन लगाएर काम अघि बढाऔँ,' देउवाले महामन्त्री थापालाई आग्रह गरे।
लगत्तै महामन्त्री थापाले भने, 'विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिने जिम्मा म लिन सक्दिनँ।'
आजको बैठकमा नेता डा शेखर कोइराला र रमेश लेखकले पनि विशेष महाधिवेशन पुसमा गर्दा नै उपयुक्त हुने प्रस्ताव गरेका थिए।
छलफलमा सहभागी अर्का नेताले भने, 'शेखरजी र रमेश लेखकजीले विशेष महाधिवेशन पुसमा गर्ने गरी अघि बढ्दा राम्रो हुन्छ भन्नुभयो।'
शेखर र लेखकको प्रस्ताव आफू र कृष्ण सिटौलाले यो स्वीकार्य छैन भनेर भनेको निधिले बताए।
'मैले र सिटौलाजीले के भन्यौँ भने- मंसिरमा यो सम्भव नै छैन। अब पुस या माघमा गर्दा निर्वाचन नै प्रभावित हुन्छ। फागुन २१ गतेको निर्वाचनलाई बाधा हुन्छ। अब राष्ट्रिय सभाको लागि काम गर्नुपर्नेछ,' बैठकमा राखेको धारणाबारे निधिले थपे, 'छिटै प्रतिनिधि सभाको समानुपातिकको सूची बुझाउनुपर्नेछ। चुनाव प्रचारमा पनि लाग्नुपर्नेछ।'
बैठकमा निधि र सिटौलाले आजको छलफलमा यस विषयमा केन्द्रीय समितिमा सर्वसम्मत निर्णय हुन नसके बहुमत र अल्पमत गरेर गर्नुपर्ने प्रस्ताव पनि राखेका थिए।
देउवाले आजको छलफलमा पार्टीको विवाद रोक्न के गर्न सकिन्छ गरौँ भनेको पनि निधि बताउँछन्।
उनले देउवालाई उदृत गर्दै भने, 'पार्टीमा विवाद रोक्न सकिन्छ भने मंसिर, पुस र माघ जुन बेलामा हुन्छ गरौँ। विवाद सल्टाउन सकिन्छ भने जसो गर्दा हुन्छ त्यसै गरौँ।'
नेताहरूबीच सहमति नजुट्दा भोलिका लागि तय भएको केन्द्रीय समिति बैठक पनि सोमबार दिउँसोसम्मलाई सारिएको छ।
Shares

प्रतिक्रिया