लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले अब बाँकी तीन खेलमा ‘बाउन्स ब्याक’ गर्ने बताएका छन्।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार लुम्बिनी सुदूरपश्चिम रोयल्ससँगै सात विकेटले पराजित भयो। यो लुम्बिनीको लगातार तेस्रो हार हो। अहिलेसम्म खेलका चार खेलमा एक मात्रै जितेको छ।
अब बाँकी खेलमा जितेर अन्तिम चार पुग्ने आश जिवितै रहेको रोहितको भनाइ थियो। ‘तीन खेल हार्दा पनि निरास भएका छैनौं। सबै जना जित्न सक्छौं भनिरहेका छौं,’ उनले भने, ‘अब बाँकी तीन खेल जित्छौं भन्ने विश्वास छ। पक्कै पनि बाउन्स ब्याक गर्छौं।’
खेलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले लिगमा राम्रो सुरुवात गरे पनि पछिल्लो खेलमा बिग्रिएको बताए। ‘लिगमा राम्रो सुरुवात गरेका थियौं। त्यसपछि लय गुम्यो,’ रोहितले भने, ‘आजको खेलमा पनि सुरुवात राम्रो भएको थियो। अन्तिममा धेरै रन बनाउन सकेनौं। त्यहीबाट मोमेन्टम गुमायौं। १७०–१८० बनाउनुपथ्र्यो।’
विदेशी खेलाडीसँगै नेपाली खेलाडीले पनि राम्रो प्रदर्शन गर्दा मात्रै जितिने उनको भनाइ थियो। ‘कुनै पनि टिमका लागि विदेशी खेलाडी महत्त्वपूर्ण छन्। त्यससँगै नेपाली खेलाडीले पनि खेल्नुपर्छ। जस्तो आज सुदूरपश्चिमका लागि विनोद दाइ र आरिफ दाइले खेले,’ उनले भने, ‘जित्नका लागि दुई जना विदेशी र दुई जना नेपाली चल्नैपर्छ।’
लुम्बिनीको टोली फेरि खेलमा फर्किने उनले बताए। ‘जित्दाखेरी सबै कुरा राम्रो देखिरहेको हुन्छ, हार्दा सबै जना चारैतिर हुन्छन्। अब आउने दिनमा राम्रो गर्छौं,’ उनले भने।
टिमले लगातार हार्दा आफूलाई दबाब परिरहेको उनले स्वीकारे। ‘कुनै टिमलाई पनि लिड गर्दा प्रेसर हुन्छ, लोकल होस कि राष्ट्रिय। त्यसलाई कसरी हेन्डल गर्ने भन्ने हुन्छ,’ रोहितले भने, ‘आस छ, अबका तीन खेल जित्नेछौं।’
Shares

प्रतिक्रिया