अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली इन्डोनेसियासँग पराजित भएको छ।
इन्डोनेसियाको योग्यकर्तास्थित मागुवोहर्जो रंगशालामा बुधबार साँझ सम्पन्न खेलमा इन्डोनेसियासँग नेपाल २–१ गोलअन्तरले पराजित भएको हो। पहिलो हाफमा बनाएको अग्रतालाई जोगाउन नसक्दा नेपाल पराजित भयो।
खेलको २०औँ मिनेटमा नेपालले अग्रता लिएको थियो। अनिता बस्नेतको कर्नरमा विमला विकले डिबक्सबाट हेड गरेकी थिइन्। तर इन्डोनेसियाकी भिभी आकताभी रिस्कीले आफ्नै पोष्टमा आत्मघाती गोल गरेकी थिइन्। खेलको पहिलो हाफमा अग्रता लिएको नेपाललाई खेलको दोस्रो हाफमा इन्डोनेसियाले दुई गोल गर्दै पराजित गरेको हो।
खेलको ५८औँ मिनेटमा इन्डोनेसियाकी कप्तान गिया युमन्दाले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याइन्। ६७औँ मिनेटमा औलिया अरिफाले गोल गर्दै आफ्नो टोलीको जीत सुनिश्चित गरिन्।
प्रतियोगितामा नेपाली टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) भने चोटका कारण उपस्थित थिइनन्। पछिल्लो पटक नेपालले इन्डोनेसियालाई पराजित गरेको थियो।
सन् २०१९ मा म्यानमारको मण्डलेमा सम्पन्न एएफसी ओलम्पिक छनोटको दोस्रो चरणमा नेपाली टोलीसँग भेट भएको थियो। त्यतिवेला नेपालले इन्डोनेसियालाई २–१ गोलअन्तरले पराजित गरेको थियो।
यसैगरी सन् १९८९ मा एएफसी वुमेन्स च्याम्पियनसिपमा इन्डोनेसियाले नेपाललाई ८–० गोलअन्तरले पराजित गरेको थियो। नेपालले अब यही मंसिर १६ गते चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ।
Shares

प्रतिक्रिया