लेग स्पिनर सन्दीप लामिछानेले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा सबैभन्दा बढी विकेट लिएका छन्।
विराटनगर किंग्सका कप्तान समेत रहेका सन्दीपले चार खेलमा नौ विकेट लिएका हुन्। लेग ब्रेक जस्तै देखिने तर ब्याटर झुक्किने गरी अफ स्टम्प टर्न हुने गुगली उनको सबैभन्दा घातक हतियार मानिन्छ। यसले गर्दा ब्याटर ठूलो सट खेल्न सक्दैनन्।
बलिङको गति र लेन्थमा राम्रो नियन्त्रण राख्ने उनको खुबी विशेष छ। उनको खेलशैली दायाँ हाते लेग ब्रेक हो।
जनकपुर बोल्ट्सविरुद्धको खेलमा सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेका सन्दीपले बुधबार चितवन राइनोजविरुद्ध दुई विकेट लिए। योसँगै उनले लिएको विकेट संख्या नौ पुगेको हो।
उनी विराटनगर टिमका मार्की खेलाडी पनि हुन्। विराटनगरसँग कति पैसामा अनुबन्धित भए भन्ने खुलाएको छैन। एनपीएलको अघिल्लो संस्करणमा फ्रेन्चाइज र मार्की खेलाडीबीच २० लाख रुपैयाँ हाराहारीमा सम्झौता भएको नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको थियो। यो पटक मार्की खेलाडीको शुल्क सार्वजनिक गरिएको छैन।
सामान्यतः अन्य खेलाडीभन्दा मार्कीले बढी पैसा लिन्छन्। फेरि टी-२० अन्तर्राष्ट्रिय खेलमा सन्दीप विश्वका उत्कृष्ट बलरमध्ये पर्छन्।
एनपीएलको पहिलो सिजनमा सन्दीपले ६ विकेट लिएका थिए। अहिले जारी दोस्रो सिजनमा नौ विकेट लिइसकेका छन्।
त्यसपछि सात विकेट लिने तीन खेलाडी छन्। काठमाडौँ गोर्खाजका मिलिन्द कुमार, विराटनगर किंग्सका मर्चेन्ट डि लाङ्गे र काठमाडौँका करण केसीले सात–सात विकेट लिएका छन्।
त्यस्तै, सबैभन्दा बढी रन चितवन राइनोजका रवि बोपाराले बनाएका छन्। उनले तीन खेलमा १८३ रन बनाएका छन्। उनले तीनै खेलमा लगातार अर्धशतक हानेका हुन्।
त्यस्तै, दोस्रो नम्बरमा कर्णाली याक्सका मार्क वाट छन्। उनले तीन खेलमा १४७ रन बनाएका छन्। तेस्रो नम्बरमा रहेका विराटनगर किंग्सका लोकेश बमले १२१ रन बनाएका छन्।
यो पनि पढ्नुहोस् : विराटनगरको अपराजित यात्रामा चितवनले लगायो ‘ब्रेक’
Shares

प्रतिक्रिया