घरेलु मैदानमा भारतलाई हराउँदै दक्षिण अफ्रिका आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको दोस्रो स्थानमा उक्लिएको छ।
गुहाटीमा भएको दोस्रो टेस्टमा दक्षिण अफ्रिकाले भारतलाई बुधबार ४०८ रनले पराजित गरेको हो। दक्षिण अफ्रिकाले दिएको ५४८ रनको लक्ष्य पछ्याउने क्रममा भारत १४० रनमै समेटिएको हो।
पहिलो इनिङमा दक्षिण अफ्रिकाले सबै विकेट गुमाएर ४८९ रन बनाएको थियो। त्यसपछि ब्याटिङ गरेको भारत २०१ रनमै समेटियो।
दोस्रो इनिङमा पाँच विकेटको क्षतिमा २६० रन बनाएर दक्षिण अफ्रिकाले पारी अन्त्यको घोषणा गरेको थियो। दक्षिण अफ्रिकाले दुवै इनिङमा ५४८ रनको अग्रता लिएका थियो।
त्यसलाई पछ्याएको भारत १४० रनमै समेटिएको हो। भारतका लागि रविन्द्र जडेजाले ५४ रन बनाए। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।
यो जितसँगै दुई खेलको टेस्ट शृंखला दक्षिण अफ्रिकाले २–० ले जितेको छ। भारतविरुद्धको शृंखला जितेसँगै दक्षिण अफ्रिकाले १२ अंक जोडेको छ।
भारतमा भएको जितले दक्षिण अफ्रिका टेस्ट च्याम्पियनसिपको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। अहिलेसम्म खेलेका चार खेलमध्ये तीन जितेको दक्षिण अफ्रिका ७५ प्रतिशत जित सहित दोस्रो स्थानमा उक्लिएको हो।
अस्ट्रेलिया सतप्रतिशत जितसहित शीर्षस्थानमा छ। अस्ट्रेलियाले अहिलेसम्म खेलको चारै खेल जितेको छ।
भारत यो हारसँगै पाँचौं स्थानमा झरेको छ। अहिलेसम्म खेलेका नौमध्ये चार खेल जितेको छ।
वेस्ट इन्डिज अहिलेसम्म खेलका पाँचै खेल हारेर अंक तालिकाको पुछारमा छ। टेस्ट च्याम्पियनसिपका प्रतिस्पर्धी नौ टोलीमध्ये न्यूजिल्यान्डले खेल्न बाँकी नै छ।
अंक तालिकाको शीर्षस्थानमा रहेका दुई टोली सन् २०२७ मा उपाधिका लागि भिड्नेछन्।
Shares

प्रतिक्रिया