काठमाडौँ गोर्खाजका प्रारम्भिक ब्याटर आकाश त्रिपाठीले बेन चार्ल्सवर्थसँग ओपनिङ गर्दा रमाइरहेको बताएका छन्।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को मंगलबारको खेलमा लुम्बिनी लायन्सलाई पराजित गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै आकाशले अर्का प्रारम्भिक ब्याटर बेन चार्ल्सवर्थले हौसला दिइरहेको बताए। ‘बेन एकदमै सकारात्मक छ। एउटा बल मिस हुँदा पनि अर्को बलमा ठिक हुन्छ भन्दै हौसला दिन्छ,’ उनले भने, ‘बेनसँग ब्याटिङ गर्दा मजा आउँछ।’
मंगलबार लुम्बिनीविरुद्धको खेलमा आकाशले ३२ रन बनाएका थिए। बेन भने शून्यमा आउट भएका थिए। आगामी खेलमा बेनले राम्रो गर्ने उनको विश्वास छ।
काठमाडौँले लगातार दुई वटा हारपछि आज जित हासिल गरेको हो। यसअघिका खेल पनि राम्रो गर्दागर्दै हारेको उनको भनाइ छ। ‘दुई खेलको नजिता हाम्रो पक्षमा आएन। हामीले राम्रो खेलिरहेका थियौं, तर अन्तिममा एउटा गल्ती हुँदा हारिरहेका थियौं,’ उनले भने।
आज भने योजना अनुसार नै विकट जोगाएर लेखेको उनले बताए। ‘विकेट ट्रिकी थियो। त्यसैले १६० रनसम्म बनाउने योजना थियो। त्यहीअनुसार, खेलिरहेका थियौं,’ आकाशले भने, ‘विकेट हातमा भएपछि अन्तिममा हान्न सक्छौं भन्ने थियो, त्यस्तै भयो।’
काठमाडौँले अन्तिम तीन ओभरमा ४५ रन बनाएको थियो। करण केसीले ११ बलमा ३४ रन प्रहार गरेका थिए।
काठमाडौँको अन्तिमसम्म ब्याटिङ गर्ने खेलाडी भएकाले सुरुवातमा जोगिएरै खेल्ने गरेको उनले सुनाए। ‘हाम्रो दशौं नम्बरसम्म ब्याटिङ गर्नेछन्। त्यही अनुसार योजना बनाइरहेका हुन्छौं,’ उनले भने।
यो पनि पढ्नुहोस् : दुई हारपछि काठमाडौँको ‘कमब्याक’, लुम्बिनी फेरि पराजित
Shares

प्रतिक्रिया