खेल


चितवनलाई हराउँदै लुम्बिनीको सुखद् सुरुवात

चितवनलाई हराउँदै लुम्बिनीको सुखद् सुरुवात

सबै तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
मंसिर ४, २०८२ बिहिबार १९:२९, काठमाडौँ

चितवन राइनोजलाई पराजित गर्दै लुम्बिनी लायन्सले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुवात गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा लुम्बिनीले चितवनलाई ६ विकेटले पराजित गरेको हो। चितवनले भने एनपीएलको दोस्रो खेलमा पहिलो हार व्यहोरेको छ।

चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ५ विकेटले पराजित गरेको थियो। अघिल्लो सिजन लुम्बिनीले एक खेलमा मात्र जित निकाल्दा चितवनलाई नै ३३ रनले पराजित गरेको थियो

चितवनले दिएको एक सय ४३ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो। चौथो विकेटका लागि कप्तान रोहित पौडेल र गुल्बदिन नैबले ६० रनको साझेदारी गरेपछि लुम्बिनीले सहज जित निकालेको हो। 

कप्तान रोहित ३९ रन बनाउँदा सोहेल तनविरको बलमा क्याच आउट भए। उनले ४४ बलमा एक चौका प्रहार गरे। 

गुल्बदिन ४४ र जोनाथन स्मिथ चार रनमा अविजित रहे। गुल्बदिनले २४ बलमा तीन चौका र तीन छक्का प्रहार गरे। 

ओपनर सन्दीप जोरा २८ रनमा क्याच आउट भए। आर्सी सर्ट ११ रनमा बोल्ड आउट भए। १० रन बनाएका दिलीप नाथ रन आउट हुन पुगे। 
चितवनका लागि रिजन ढकालले दुई विकेट लिए। सोहेल तनविरको नाममा एक विकेट रह्यो। 

त्यसअघि चितवनले सात विकेटको क्षतिमा एक सय ४२ रन बनाएको थियो। 

चितवनका लागि रवि बोपाराले ५५ बलमा चार चौका र तीन छक्काको सहयोगमा ६६ रन बनाए। उनले ४५ बलमा चार चौका र दुई छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए। रविले दुई खेलमा लगातार अर्धशतक बनाएका हुन्। 

त्यस्तै, १८ बलमा एक छक्काको सहयोगमा २१ रन बनाएका कप्तान कुशल मल्ल रुबेन ट्रम्पलमेनको बलमा सन्दीप जोराको हातबाट क्याच आउट हुन पुगे। सैफ जैब सात बलमा दुई चौका र एक छक्काको सहयोगमा १५ रन बनाउँदा रुबेनको बलमा रोहित पौडेलको हातबाट क्याच आउट भए। 

चितवनका देव खनाल १४ रन बनाउँदा अविशेष गौतमको बलमा सन्दीप जोराको हातबाट क्याच आउट भए। ओपनर दिपक बोहरा १० रन बनाउँदा अविशेष गौतमको बलमा आउट भए।

अर्का ओपनर डेबिड मलान रुबेन ट्रम्पलमेनकै बलमा बोल्ड आउट भए। अर्जुन साउँद आठ रनमा नटआउट रहे। सोहेल तनविर पाँच रनमा क्याच आउट भए।

लुम्बिनीका लागि रुबेनले तीन, अविशेष र गुल्बदिन नैबले दुई–दुई विकेट लिए। 

एनपीएलमा भोलि शुक्रबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै छन्। यो खेल अपराह्न ४ बजे सुरु हुनेछ। 

पोखराविरुद्ध मैदानमा उत्रिँदा सुदूरपश्चिम लगातार दोस्रो जितको खोजीमा हुनेछ। पोखरा भने पहिलो जितको खोजीमा मैदान उत्रनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad