खेल


त्रिवि क्रिकेट रंगशालाको फ्लड लाइट र प्यारापिट क्यानलाई हस्तान्तरण

त्रिवि क्रिकेट रंगशालाको फ्लड लाइट र प्यारापिट  क्यानलाई हस्तान्तरण

तस्बिरहरू: सरोज नेपाल


लक्ष्मी जि.सी
कात्तिक ३०, २०८२ आइतबार १८:५५, काठमाडौँ

सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगाशालामा जडित फ्लड लाइट तथा प्यारापिट नेपाल क्रिकेट संघ (क्यान) लाई हस्तान्तरण गरेको छ।
 
मन्त्रालयलले राष्ट्रिय खेलकुद परिषद्मार्फत क्यानलाई फ्लड लाइट  र प्यारापिट हस्तान्तरण गरिएको हो। आइतबार साँझ सहरी विकासमन्त्री कुलमान घिसिङले उद्घाटन गरेसँगै फ्लड लाइट क्यानलाई हस्तान्तरण भएको छ। 

फ्लड लाइटका लागि अहिले २ वटा जेनेरेटर जडान गरिएको छ। दोस्रो चरणको प्रक्रिया छिट्टै सुरु गर्नेछ।

नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपालमा पनि सबै कुरा समयमा नै सम्पन्न गर्न सकिँदो रहेछ भनेर यो प्रोजेक्टले देखाएको बताए।

उनले सरकारले जहाँ स्टेडियमको माग र आवश्यक्ता छ, त्यहाँ बनाइनु पर्ने बताए। क्यानले आवश्यक्ता अनुसार स्टेडियम कहाँ आवश्यक छ भनेर लिस्ट बनाएर दिने गरेपनि मन्त्रीहरुले आफ्नो निर्वाचन क्षेत्रमा पुर्‍याउने गरेको उनको भनाइ छ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले त्रिवि रंगशालामा पोल र सिट मात्र नभइकन सपना सजिएको बताए।

ऊर्जा तथा सहरी विकास मन्त्री कुलमान घिसिङले त्रिवि रंगशाला उद्घाटन गर्न पाउँदा उज्यालो नेपालको सुरुवात भएको जस्तो लागेको बताए। 

‘आज मलाई अत्यन्त खुसी लागेको छ, यो टियु मैदानलाई उद्घाटन गर्न पाउँदा उज्यालो नेपालको सुरुवात भए जस्तो लागेको छ,’ घिसिङले भने। उनले अघिल्लो सरकारले सुुरु गरेको काम अहिले आएर सम्पन्न भएको समेत बताए। 

‘अघिल्लो सरकारले सुरु गरेको काम अहिले सम्पन्न भएको छ,’ घिसिङले भने, ‘अहिले पहिलो चरणको काम सम्पन्न भएको छ। हामीले दुई महिना अघि आएर छिटो सम्पन्न गर्न आग्रह गरेका थियौँ। यो समयभन्दा ढिलो सम्पन्न भएपनि नेपालमा सबैभन्दा छिटो सम्पन्न भएको प्रोजेक्ट बनेको छ।’ 

उनले एनपीएलका लागि शुुभकामना दिँदै आगामी विश्वकपका लागि आर्थिक सहयोग गर्ने बताए। ‘पूूर्वाधारले सम्पन्न क्रिकेट मैदान बनाउने सपना पूरा हुदैछ, यो क्रिकेट मैदानमा सोमबारदेखि सुरु हुने एनपीएलका लागि क्रिकेट प्रेमी र खेलाडीलाई शुभकामना दिन चाहान्छु,’ घिसिङले भने, ‘आगामी विश्वकपमा छनोटका लागि आर्थिक सहयोग सरकारको तर्फबाट गर्ने प्रतिवद्दता जनाउन चाहान्छु। यो खेलमात्र नभएर युवालाई एकतावद्द बनाउने माध्यम बनेको छ।’

प्यारापिट निर्माणका लागि बिकेओआई-केसीडिसी-बिजी जेभीले २०८१ फागुन १९ गते सम्झौता गरेर २० गतेबाट निर्माणको काम सुरु गरेको थियो।

२ महिनाभित्रमा काम सक्ने गरी ४३ करोड ७७ लाख ३० हजार रुपैयाँमा निर्माणको जिम्मा पाएको थियो। १० हजार दर्शक सिट क्षमताको प्यारापिट तयार गर्न लागिएको हो। 

फ्लडलाइड जडानका लागि २७ करोड ४० लाख रुपैयाँमा विशाण-ईश्वरी जेइन्ट भेन्चरले ठेक्का पाएको थियो। ६ वटा फ्लडलाइटमा ७० वटाका दरले ४२० वटा लाइट जडान गरिएको छ। 

तर सुरुमा सम्झौता भएको अवधिमा काम नसकिएपछि असार मसान्तसम्म निर्माण अवधि थप गरिएको थियो। त्यो अवधिमा पनि काम नसकिएपछि भने हर्जना तिर्नेगरी निर्माण कम्पनीले काम गरेको थियो।

त्रिवि क्रिकेट मैदानको पहिलो चरणको निमार्ण कार्य सम्पन्न भएको छ। पहिलो चरण सम्पन्न भएपछि सोमबारदेखि सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुनेछ। 

दोस्रो चरणको काम आगामी २ देखि ३ वर्षमा सम्पन्न गर्ने लक्ष्य सहरी विकास मन्त्रालयले लिएको छ। 

दोस्रो चरणमा करिब ५ अरबको लागत लाग्ने अनुमान मन्त्रालयले गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad