इस्लामावादमा भएको आत्मघाती बम विस्फोटपछि पाकिस्तान र श्रीलंकाको खेल एक दिन सारिएको छ।
इस्लामावादस्थित जिल्ला अदालत बाहिर कात्तिक २५ मा आत्मघाती बम विस्फोट भएको थियो। विस्फोटनमा १२ जनाको मृत्यु भएको थियो भने कयौं घाइते भएका थिए।
आंतकवादी हमलालाई लिएर सुरक्षाको कारण देखाउँदै श्रीलंकाली टोलीका खेलाडीले घर फर्किने इच्छा जनाएका थिए। तर, श्रीलंका क्रिकेट (एसएलसी)ले पाकिस्तान भ्रमणलाई जारी राख्न खेलाडी र खेल व्यवस्थापनलाई निर्देशन दिएको छ। पाकिस्तानले श्रीलंकाली टोलीको सुरक्षा व्यवस्था बढाउने भएपछि खेललाई निरन्तरता दिन निर्देशन दिएको जनाएको छ।
पाकिस्तान भ्रमणमा रहेको श्रीलंकाली टोलीले एकदिवसीय शृंखला खेलिरहेको छ। पहिलो खेलमा पाकिस्तान विजयी भएको थियो।
आज दोस्रो खेल तय गरिएको थियो। तर, बम विस्फोटका कारण आजको खेल भोलिलाई सारिएको छ। पाकिस्तान र श्रीलंकाबीचको दोस्रो एकदिवसीय खेल शुक्रबार अपराह्न सवा ३ बजे रावलपिण्डीमा हुनेछ। त्यस्तै, शनिबारलाई तय भएको तेस्रो खेल आइतबारलाई सारिएको छ।
एकदिवसीय शृंखलापछि श्रीलंका, जिम्बाबे र पाकिस्तानले टी–२० शृंखला खेल्ने तय गरिएको छ। टी-२० शृंखला सोमबारदेखि हुने खेल तालिका रहेको छ।
Shares

प्रतिक्रिया