स्पेनिस ला लिगामा बार्सिलोनाले आठौँ जित दर्ता गरेको छ। गएराति भएको खेलमा बार्सिलोनाले एल्चेमाथि ३–१ को जित दर्ता गर्दै ला लिगामा आठौँ जित हात पारेको हो। जितसँगै बार्सिलोना अंक तालिकाको दोस्रो स्थानमा छ।
लिगका ११ खेलमा ८ खेलमा जित, १ खेलमा बराबरी र २ खेलमा हार भोगेको बार्सिलोना २५ अंकमा दोस्रो स्थानमा छ। समान खेलबाट सात खेलमा जित र २ खेलमा हार र २ खेलमा बराबरी गरेको भिल्लारियल २३ अंकमा तेस्रो स्थानमा छ।
समान ११ खेलबाट १० खेलमा जित र १ खेलमा हार भोगेको रियल मड्रिड ३० अंकमा अंक तालिकाको शीर्ष स्थानमा छ।
खेलको नवौँ मिनेटमा लामिन यामालको गोलमा बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो। यामलले एलेजान्ड्रो बाल्डेको पासमा बललाई पोष्टको जाली चुमाएका थिए।
त्यसको दुई मिनेटपछि नै फर्मिन लोपेजको पासमा फेरान टोरेसले गोल गर्दै बार्साको अग्रता दोब्बर पारे। खेलको ४२ औँ मिनेटमा अल्भारो नुनेजको पासमा रफा मिरले गोल गर्दै एल्चेलाई २–१ को अवस्थामा ल्याएका थिए।
पहिलो हाफमा २–१ ले अग्रता बनाएको बार्साले दोस्रो हाफमा थप एक गोल गर्यो। खेलको ६१ औँ मिनेटमा रासफोर्डको गोलमा बार्सिलोनाले ३–१ को जित हात पारेको हो।
Shares

प्रतिक्रिया