विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि न्युजिल्यान्डका क्रिकेटर मार्टिन गुप्टिललाई पुनः अनुबन्ध गरेको छ।
विराटनगरले आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै दोस्रो सिजनका लापग मार्टिनलाई नै निरन्तरता दिएको जानकारी दिएको हो।
मार्टिनको आगमनले विराटनगरको ब्याटिङ लाइनअप थप बलियो बनेकाले पावर प्लेको समयमा टोलीलाई आक्रमक बनाउने क्लबले विश्वास राखेको छ।
विराटनगरको विज्ञप्तीमा उल्लेख छ, सिजनभरि इनिङ्स एङ्कर गर्ने र खेल समाप्त गर्ने उनको क्षमता महत्त्वपूर्ण हुनेछ। फ्यानहरूले उनको ट्रेडमार्क छक्का, रचनात्मक साझेदारी र म्याच विनिङ प्रदर्शनले नेपालको सबैभन्दा ठूलो क्रिकेट मञ्चलाई फेरि एक पटक उज्यालो बनाएको हेर्न उत्सुक छन्।
मार्टिन आधुनिक क्रिकेटको सबैभन्दा परिचित नामहरू मध्ये एक हो, जो इनिङको शीर्षमा आफ्नो विस्फोटक ब्याटिङ र सीमित ओभरको ढाँचामा प्रभुत्व जमाउने क्षमताको लागि परिचित छन्।
‘लामो र सफल करियरमा, उनी आईसीसी विश्वकप र टी–२० विश्वकप सहित प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा न्युजिल्याण्डका लागि एक प्रमुख खेलाडी भएका छन्। २०१५ को विश्वकपमा अविजित २३७ रनको उनको कीर्तिमान तोड्ने दोहोरो शतक आधुनिक एकदिवसीय क्रिकेटको सबैभन्दा अविस्मरणीय क्षणहरू मध्ये एक हो’, विज्ञप्तिमा उल्लेख छ।
मार्टिनको शान्त स्वभाव र नेतृत्वसँगै इन्डियन प्रिमियर लिग र क्यारिबियन प्रिमियर लिग लगायत विश्वभरका फ्रेन्चाइज लिगहरूमा उनको अनुभवले उनलाई एनपीएल तथा बिराटनगर किंग्सलाई मद्दत पुग्ने टिम निर्देशक दिपेन्द्र चौधरीले विश्वास लिएका छन्।
Shares

प्रतिक्रिया