एसियन कप छनोटका क्रममा मलेसियासँग हारेको नेपालले यो नतिजा उल्टाउन अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) मा निवेदन दिएको छ।
साउदी अरेबियामा सन् २०२७ मा हुने एसिएन कप छनोटअन्तर्गत दोस्रो खेलमा नेपाल मलेसियासँग २–० ले हारेको थियो।
सो छनोट प्रतियोगितमा भाग लिएका मलेसियन खेलाडी प्रतिबन्धित भएसँगै नेपालले फिफामा निवेदन दिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिए।
गत महिना ‘फिफा’ले मलेसियाको राष्ट्रिय फुटबल टोलीमा सङ्लग्न सात जना विदेशी खेलाडीलाई एक वर्षका लागि प्रतिबन्ध लगाउँदै फुटबल सङ्घ (एफएएम) लाई चार लाख ४० हजार अमेरिकी डलर जरिवाना गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी ‘एएफपी’ले जनाएको छ।
यसरी प्रतिबन्धित खेलाडीमध्येका एक ‘हेक्टर हेभल’ले मलेसियाको ‘जोहोर’मा सम्पन्न छनोट खेलमा नेपालविरुद्ध पहिलो गोल गरेका थिए।
‘हामीले उक्त खेलमा अयोग्य खेलाडी खेलेको विषयमा ‘फिफा’सँग सम्पर्क गरिसकेका छौँ। त्यसैले नतिजा उल्ट्याउनुपर्छ भन्ने हाम्रो माग हो, सोहीबमोजिम निवदेन दिएका हौँ’, एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले भने।
मलेसियाका तर्फबाट खेलेका ती सात खेलाडीले आफ्ना मलेसियाली पुर्खाको दाबी गर्न नक्कली कागजात प्रयोग गरेको फिफाको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
फिफाका अनुसार तिनीहरूमध्ये कसैको पनि आमाबाबु वा हजुरबुबा मलेसियामा नजन्मेको ‘एएफपी’ले जनाएको छ।
यसैबीच मलेसियाको फुटबल सङ्घले जानाजानी कुनै पनि गलत काम नगरेको दाबी गर्दै खेलाडीहरूको योग्यतासम्बन्धी निर्णय ‘कानुनी प्रक्रियाअनुसार’ नै भएको दाबी गरेको छ।
प्रतिबन्धित ती सात खेलाडी गत जुनमा भियतनामविरुद्ध भएको खेलमा पनि सहभागी भएको र उक्त एसिएन कप छनोट खेलमा मलेसियाले ४–० को विजय हासिलसमेत गरेको एएफपीले जनाएको छ।
हालसम्म चार खेल खेलिसकेको नेपाल कुनै पनि अङ्क प्राप्त गर्न नसकेर समूह ‘एफ’को अन्तिम स्थानमा छ।
मलेसिया १२ अङ्कका साथ शीर्ष स्थानमा छ भने भियतनाम नौ अङ्कसहित दोस्रो र लाओस तीन अङ्क प्राप्त गरी तेस्रो स्थानमा रहन सफल भएका छन्।
Shares

प्रतिक्रिया