खेल


त्रिवि रंगशालामा १० हजार सिट जडान, फ्लडलाइट बनाउन क्रेन ल्याइयो

दोस्रो चरणमा १५ हजार सिट थपिने सिंहको दाबी
त्रिवि रंगशालामा १० हजार सिट जडान, फ्लडलाइट बनाउन क्रेन ल्याइयो

नेपालखबर
भदौ २२, २०८२ आइतबार २१:१४, काठमाडौँ

त्रिवि क्रिकेट रंगशालामा १० हजार सिट जडान सकिएको छ। प्यारापिट निर्माणको ठेक्का पाएको बीकेओआई–बीजी जेभीले सम्झौता अनुसार सबै कुर्सी जडान गरिसकेको हो। 

सरकारले पहिलो चरणमा १० हजार क्षमताको प्यारापिट निर्माणको जिम्मा उक्त कम्पनीलाई दिएको थियो। गएको फागुनमा काम थालेको कम्पनीले ६ महिनामै १० हजार क्षमताको रंगशाला तयार गरेको हो। अब रंगरोगन र फिनिसिङको काम पनि केहीदिनमै सम्पन्न गरेर सरकारले हस्तान्तरण गर्ने कम्पनीको दाबी छ। 

उता फ्लडलाइका लागि पनि केही दिनमै पोल ठड्याउने काम सुरु हुने भएको छ। पोल ठड्याउनका लागि आवश्यक पर्ने क्रेन त्रिविमा लगिसकिएको छ। फ्लडलाइट जडानका लागि जमिनमा ४ वटा पोल जोडिसकिएको छ।

अब क्रेनले त्यसलाई उठाउने काम सुरु हुनेछ। त्यहीबिचमा बाँकी दुई वटा पोल जडान गर्ने तयारी छ। फ्लडलाईटका लागि इटालीबाट लाइट ल्याउने भनिएको छ। यद्यपी अहिलेसम्म लाइट भने नेपाल आइसकेको छैन। अन्य संरचना तयार भइसकेको छ।  

प्यारापिटको काम अन्तिम चरणमा पुगेपछि उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले आइतबार रंगशालाको स्थलगत निरीक्षण गरेका छन्। त्यसक्रममा उनले इच्छाशक्ति हुँदा पूर्वाधार निर्माण समयमा नै बनाउन सकिन्छ भन्ने उदाहरण टियु क्रिकेट रंगशालाले देखाएको बताए। 

‘टियु क्रिकेट स्टेडियम समयसीमाभित्र सम्पन्न नभए पनि काम सहज रूपमा अगाडि बढिरहेको छ। लक्ष्यअनुरूप पूरा नभए पनि इच्छाशक्ति हुँदा छिटै पूर्वाधार निर्माण गर्न सकिने रहेछ भन्ने यसले देखायो। टियु स्टेडियम निर्माणका लागि आवश्यक सामग्री सबै विदेशबाट ल्याउनुपर्ने हुँदा ग्लोबल टेन्डर प्रक्रियाले काममा केही ढिलाइ भयो’, सिंहले भने। 

सधैँ विदेशमा गएर मात्र खेल्नेभन्दा पनि विदेशी टोलीलाई नेपालमा ल्याउने उद्देश्यअनुरूप यो स्टेडियम बनाइएको बताए। यसका लागि अन्तर्राष्ट्रिय मापदण्ड पूरा भएको सुविधासम्पन्न क्रिकेट स्टेडियम बन्ने मन्त्री सिंहको दाबी छ। 

फ्लड लाइटमा प्रयोग हुने लाइट इटालीबाट झिकाइएको मन्त्री सिंहले बताए। नेपालमा क्रिकेटप्रति बढ्दो क्रेजका कारण सुविधासम्पन्न क्रिकेट स्टेडियम निर्माण गरिएको उनले बताए। 

पहिलो चरणमा १० हजार क्षमताको तयार भए पनि अर्को आर्थिक वर्षमा १५ हजार सिट थप्ने सिंहले दाबी गरे। 

दोस्रो चरणको काम सकिएपछि २५ हजार दर्शक अट्ने रंगशाला, कमेन्टेटर बक्स, चेन्जिङ रुम र प्रेस बक्सलगायत आवश्यक संरचना तयार हुने उनले बताए। लक्ष्यअनुरूप निर्माण सम्पन्न नभए पनि धेरै ढिला नभएको उपप्रधानमन्त्री सिंहले भने। 

निर्माण सम्पन्न भएपछि सम्झौतामा भएअनुसार गुणस्तर मापन गरेर मात्र सरकारले जिम्मा लिने उनले प्रस्ट पारे। 

त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई डिस्टर्ब नहुने गरी रंगशाला निर्माण हुने उनको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad