‘के वान वर्ल्ड म्याक्स-२०२५ टुर्नामेन्ट’मा पहिलोपटक नेपाली युवा बक्सर अविरल घिमिरे (हिमालयन चितुवा) रिङमा उत्रने भएका छन्।
विश्वप्रसिद्ध क्लब के वान ग्रुपद्वारा यही भदौ २२ (७ सेप्टेम्बर २०२५) गते जापानको टोकियो सहरमा सो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुँदै छ।
‘हिमालयन चितुवा’का नामले विश्व परिचित बक्सर घिमिरेसहित चीन, बुलगेरिया, नेदरल्यान्ड्स, सेनेगल, ब्राजिल, पोल्यान्ड, आरमेनिया, अमेरिका, फ्रान्स, जर्मनी, रुस, माल्डोभाका चर्चित बक्सरले प्रतियोगितामा कडा प्रतिस्पर्धा गर्दै छन्।
नेपालको किक बक्सिङ खेल इतिहासमा नयाँ-नयाँ विश्व कीर्तिमान कायम गरिसकेका बक्सर घिमिरे प्रतियोगिताको पहिलो दिन फ्रान्सका प्रतिद्वन्द्वी आइमेरिक लेजीजीसँग आमनेसामने हुने तालिका के वान क्लबले सार्वजनिक गरेको छ।
उसो त घिमिरेले सोही के वान खेलबाट नेपालको प्रतिनिधित्व गर्दै आफ्नो किक बक्सिङको अद्भूत प्रतिभालाई विश्वसामु प्रदर्शन गर्दै आएका छन्।
घिमिरेले पहिलो खेल जितेमा पुनः यही कात्तिक २९ (नोभेम्बर १५, २०२५) मा एकैदिन तीन खेल खेल्नुपर्ने हुन्छ। उक्त तीन खेल खेल्दा विजय हासिल गरेमा किकबक्सिङ इतिहासमै विश्वको नम्बर वान खेलाडीको उपाधि हात पार्दै विश्व जगत्मा इतिहास रच्न सक्ने भाग्यमानी नेपाली खेलाडी बन्नेछन्।
‘के वान वर्ल्ड म्याक्स टुर्नामेन्ट’लाई किक बक्सिङ खेल क्षेत्रको सर्वोच्च प्रतियोगिता मानिन्छ। ‘के वान वर्ल्ड म्याक्स-२०२५ टुर्नामेन्ट’का लागि बक्सर घिमिरेले तयारीलाई तीव्र बनाएका छन्।
आफ्नै खर्चमा बक्सर घिमिरेले थाइल्यान्ड्सको फुकेट सहरस्थित टाइगर मोथाई क्लबबाट विशेष प्रशिक्षण लिएर हालै मात्र जापान फर्किएका थिए। जापानमा आफ्ना पिता पूर्वअन्तरराष्ट्रिय किक बक्सिङ खेलाडी देव घिमिरेकै विशेष प्रशिक्षणमा अविरलले सो अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अभ्यास गरिरहेको जनाइएको छ।
अहिले प्रतियोगिता हुने टोकियो, सिवुआलगायत सहरका सार्वजनिकस्थलका होडिङबोर्डमा नेपाली झण्डासहित ‘हिमालयन चितुवा’का तस्बिरलाई प्रदर्शन एवं प्रचार प्रसार गरिएका छन्। ती विद्युतीय बोर्डमा घिमिरेले रिङमा भिडेका प्रतिस्पर्धालाई देखाइएको छ।
यसैबीच जापानस्थित नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले ‘के वान वर्ल्ड म्याक्स–२०२५ टुर्नामेन्ट’मा प्रतिस्पर्धा गर्ने नेपाली खेलाडी युवा किक बक्सर घिमिरेको सफलताका लागि शुभकामना दिएका छन्।
शुभकामना सन्देशमा उनले ‘के वान वर्ल्ड म्याक्स–२०२५ टुर्नामेन्ट’मा नेपाली बक्सर घिमिरेले भाग लिन पाउनु आफैँमा ऐतिहासिक सफलता भएको उल्लेख गरेका छन्।
यस्तो छ ‘हिमचितुवा’को इतिहास
बक्सर अबिरलले हालसम्म हिट किकबक्सिङ तीनपटक ‘टाइटल डिफेन्स’ गर्दै चारपटक ‘हिट किक बक्सिङ टाइटल म्याच’, अन्तर्राष्ट्रिय किक बक्सिङ एसोसिएसन ‘टाइटल’ र ‘केवान क्रस-१७५ टाइटल’ जित हासिल गरिसकेका अविरलले हालसम्म २५ अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिँदै १९ जित निकाल्ने क्रममा १८ नकआउट गरी जित निकालेका छन्।
गत जेठ ४ गते जापानको ओसाका सहरमा सम्पन्न ‘के वन क्रस १७५’को उपाधि चुम्दै बक्सर अविरलले पहिलोपटक तीनवटा अन्तरराष्ट्रिय ‘किक बक्सिङ उपाधि’ हात पारेर अदम्य साहस तथा असाधारण उपलब्धि हासिल गरेका थिए। अत्यन्त प्रतिस्पर्धात्मक प्रतियोगितामा उनले जापानी किक बक्सिङ ‘च्याम्पियन’ ओडा जिन्कलाई दोस्रो राउन्डमा परास्त गर्दै के वान क्रस ‘विश्व च्याम्पियन’बनेका थिए।
‘च्याम्पियन’ जिन्कलाई रिङमा नकआउट गर्ने किक बक्सर अविरल पहिलो खेलाडी बनेका कोच अविरलका पिता एवं पूर्वअन्तरराष्ट्रिय किक बक्सर तथा फुलकन्ट्याक कराते खेलाडी देवले जानकारी दिए।
उनका अनुसार ‘के वन क्रस १७५’ लाई किक बक्सिङ खेलका क्षेत्रमा अन्त्यन्त प्रतिष्ठित प्रतियोगिता मानिन्छ।
‘इन्टरनेसनल किक बक्सिङ एसोसिएसन’ (इस्का) र ‘हिट’ प्रतियोगिताको टाइटल बेल्ट जित्ने बक्सर अविरल पहिलो नेपाली खेलाडी हुन्।
बक्सर अविरल आफ्ना पिता देवका साथमा जापानको नागोया सहरमा बस्दै आएका छन्। पूर्व फुलकन्ट्याक्ट कराते खेलाडी देव सन् २००४ मा कोरियाको सोलमा सम्पन्न ‘के वान प्राफेसलन किक बक्सिङ प्रतियोगिता’मा सहभागी हुने पहिलो दक्षिण एसियाली खेलाडी हुन्।
काठमाडौँको चन्द्रागिरि नगरपालिका-१२ गुर्जुधारा बलम्बुका बासिन्दा अविरलको परिवार हाल जापानको नागोया सहरमा बसोबास गर्दै आइरहेको छ।
Shares

प्रतिक्रिया