उज्बेकिस्तानमा जारी एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणको दोस्रो खेलमा एपीएफ फुटबल क्लबले आज थाइल्यान्डको कलेज अफ एसियन स्कलर्सविरुद्ध खेल्दै छ। खेल नेपाली समयअनुसार साँझ सवा ६ बजे सुरु हुनेछ।
पहिलो खेलमा उज्बेकिस्तानको पीएफसी नसाफसँग ३–० ले पराजित एपीएफ आज पहिलो जित हासिल गर्ने प्रयासमा छ।
थाइल्यान्डको टोलीले भने पहिलो खेलमा अल नसार क्लबलाई २–० ले हराउँदै जित हासिल गरिसकेको छ।
समूह चरणमा अंकविहीन एपीएफ तालिकाको पुछारमा छ।
थाइल्यान्डको क्लब भने ३ अंकसहित दोस्रो स्थानमा छ। शीर्ष स्थानमा उज्बेकिस्तानको नसाफ छ।
समूह चरणको अन्तिम खेलमा एपीएफ भदौ १६ गते साउदीको अल नसारविरुद्ध भिड्नेछ।
उज्बेकिस्तानमा अगस्ट २३ देखि जारी समूह चरणका खेल अगस्ट ३१ सम्म जारी रहनेछ।
छनोटमा सहभागी १९ टोलीलाई ५ समूहमा विभाजन गरिएको छ। जसअन्तर्गत ४ समूहमा ४ र एक समूहमा ३ टोली छन्।
हरेक समूह विजेताले फाइनल चरणमा स्पर्धा गर्नेछन्।
यसअघि नै छनोट भएका ७ टोलीसहित छनोट चरण पार गर्ने ५ गरी १२ टोलीले फाइनल चरणमा प्रतिष्पर्धा गर्नेछन्।
Shares

प्रतिक्रिया