भुटानविरुद्ध नेपालले पुनरागमन जित निकालेको छ। यू-१७ साफ महिला च्याम्पियनसिपअन्तर्गत शुक्रबार सहारा लिम्बूको दुई गोलको मद्दतले भुटानमाथि २-१ गोलको जित निकालेको हो।
भुटानस्थित थिम्पुको चाम्लिथाङ रंगशालामा भएको खेलमा भुटानले सुरुवाती अग्रता लिएको थियो। भुटानका लागि कुन्डेन सोनामले ४२ औँ मिनेटमा गोल गर्दै अग्रता बनाएकी थिइन्।
तर भुटानले अग्रता जोगाउन सकेन। नेपालका तर्फबाट लिम्बूले खेलको ५७ औं मिनेटमा बराबरी गोल फर्काइन्।
उनैले ७६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई अग्रतामा पुर्याइन्। २-१ नै खेलको अन्तिम नतिजा हुन पुग्यो। डबल राउन्ड रोबिनको आधारमा भइरहेको छनोटमा २ खेलबाट नेपालले ३ अंक जोडेको छ।
भुटान भने दुई खेलबाट लगातार हारसँगै अंक जोड्न सकेको छैन। नेपालले आइतबार बंगलादेशसँग खेल्नेछ। आइतबार नै भारत र भुटान भिड्नेछन्। भारत दुई खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ।
Shares

प्रतिक्रिया