काठमाडौं महानगरपालिकाले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाटलाई २ लाख रुपैयाँसहित सम्मान गरेको छ।
यस्तै, प्रथम खोखो विश्वकप २०२५ मा उपविजेता बनेका महिला र पुरुष टोलीलाई ११–११ लाख रुपैयाँ गरी जम्मा २२ लाखको चेकसहित सम्मान गरेको छ ।
उक्त सम्मान कार्यक्रममा बोल्दै सामाजिक विकास समितिका संयोजक रामकुमार केसीले यस्ता खेलले नेपालको शिर ठाडो बनाएको बताए।

कार्यक्रममा केसीले थपे, “महानगरपालिकाले नेपालको तर्फबाट खेल्ने टोलीहरूलाई विगतमा पनि सम्मान गर्दै आएको छ र भविष्यमा पनि निरन्तरता दिनेछ।”
उनले भने, “हजुरहरूले खेलाडीलाई सम्मान गर्नुभएकोमा म धेरै खुसी छु। अब आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्ने कोसिस गर्नेछु । यो सम्मानले हामीलाई अगाडि बढ्न थप प्रेरणा दिन्छ।”

त्यस्तै, खोखोको पुरुष टोलीले नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा भएको फाइनलमा आयोजक भारतसँग ५४–३६ को अन्तरले पराजय व्यहोरेको थियो। खोखो टोलीका कप्तानले मन्तव्य राख्दै सम्मानले हौसला बढाएकोमा धन्यवाद व्यक्त गरे।
उनले भने, “हामी कबड्डीको खेलमा जाँदा जस्तो उत्साह थियो, त्यस्तै उत्साह अहिले काठमाडौं महानगरपालिकाले सम्मान कार्यक्रम गरेर थपिदिएको छ। हामी खेलाडीको तर्फबाट यो सम्मानले निकै खुसी लागेको छ। गुरुहरू र सबैलाई धन्यवाद दिन चाहन्छु।”
महिला टोलीले फाइनलमा भारतसँग ७८–४० को अन्तरले पराजय व्यहोरेको थियो।

रवीन्द्र ढाटले भारतका चोंगरेंग कोरेनलाई तेस्रो राउन्डमा पराजित गर्दै यो उपाधि हासिल गरेका थिए। यो जितले रवीन्द्रको व्यावसायिक रेकर्ड ८–१ मा सुधार भएको छ भने कोरेनको पाँच फाइटको रेकर्ड तोडिएको छ । बझाङका रवीन्द्र यो उपाधि जित्ने पहिलो नेपाली फाइटर बनेका छन्।
यो कुनै पनि टिम खेलमा नेपालले विश्वकप फाइनल खेलेको पहिलो अवसर हो।
Shares

प्रतिक्रिया