खेल


एन्फा यू-१६ लिगमा चर्च ब्वाइजको छैटौं जित

एन्फा यू-१६ लिगमा चर्च ब्वाइजको छैटौं जित

नेपालखबर
साउन २०, २०८२ मंगलबार १८:२०, काठमाडौँ

चर्च ब्वाइज युनाइटेडले जारी एन्फा यू–१६ युथ लिगमा मंगलबार छैटौं जित निकाल्दा न्युरोड टिम (एनआरटी) ले पनि सुखद् नतिजा आत्मसात गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा मंगलवार भएको दोस्रो खेलमा एनआरटीले सातदोबाटो युथ क्लवमाथि १–० को कठिन जित निकाल्यो। त्यसअघि पहिलो खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पा क्लवलाई २–० ले हराएको थियो।

चर्च ब्वाइजको छैटौं जितमा सुशान थापामगरले उत्कृष्ट प्रदर्शन गरे। चर्च ब्वाइजका लागि सुशानसँगै सुनील दंगालले गोल गरे। यो जितसँगै चर्च ब्वाइज ११ खेलबाट २० अंकसहित पाँचौं स्थानमा उक्लिएको छ। हिमालयन शेर्पाको यो पाँचौं हार हो।

समान खेलबाट हिमालयन शेर्पा ११ खेलबाट १४ अंकका साथ नवौं स्थानमा छ। चर्च ब्वाइजले दुवै गोल दोस्रो हाफमा गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

खेलको ४९ औं मिनेटमा सुशनको गोलमार्फत् चर्च ब्वाइजले अग्रता लिएको थियो। हिमालयन शेर्पाका प्रशिक्षक प्रज्वलप्रताप क्षेत्रीले रातो कार्ड बेहोरे। जारी लिगमा क्षेत्रीको यो तेस्रो रातो कार्ड हो। ६२औं मिनेटमा दोहोरो पहेंलो कार्ड बेहोर्दै उनले मैदान छाडेका हुन्। चर्च ब्वाइजका लागि सुनिलले ८०औं मिनेटमा गोल गर्दै २–० ले अगाडि बढाए।

त्यसपछि थप गोल हुन सकेन र चर्च ब्वाइजले सहज जित निकाल्यो। अर्को खेलमा सुगम रानाले गरेको एक मात्र गोल एनआरटीको जितका लागि पर्याप्त भयो। यो एनआरटीको तेस्रो जित हो। जितसँगै ११ खेलबाट एनआरटी १२ अंकका साथ दशौं स्थानमा उक्लिएको छ।

सातदोबाटोको भने यो ११औं हार हो। अंकविहीन रहेको सातदोबाटो पुछारमा छ। सातदोबाटो युथले जारी सिजनमा ६२ गोल बेहोर्दा पाँच गोल मात्र गरेको छ।

खेलको पहिलो हाफमा एक गोल गर्‍यो। तर दोस्रो हाफमा भने गोल हुन सकेन। सुगमले ४४औं मिनेटमा गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए। त्यसपछि थप गोल हुन सकेन र एनआरटीले सातदोबाटोमाथि १–० को साँघुरो जित निकाल्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad