काठमाडौँ उपत्यका बाहिर पहिलो पटक हुन लागेको २२ औँ एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको लागि पोखरा महानगरपालिका प्रवर्धकका रुपमा रहने भएको छ।
पोखरा महानगरपालिका र नेपाल खेलकुद पत्रकार मञ्चबीच बुधबार अवार्ड प्रवर्धकका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौता पत्रमा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले हस्ताक्षर गरेका छन्।
सम्झौता पत्रमा हस्ताक्षर गरेपछि पोखरा महानगरपालिकाका अध्यक्ष आचार्यले भने, 'पोखरा देशका ठूला अन्तर्राष्ट्रिय कार्यक्रमका लागि योग्य सहर हो।'
देशको प्रतिष्ठित खेलकुद अवार्ड पोखरामा आयोजना हुँदा यसले पोखराको गरिमा र यहाँको खेलकुद क्षेत्रको परिचयलाई थप बलियो बनाउने विश्वास छ। यसमा महानगरपालिकाको आर्थिक र नैतिक सहयोग रहनेछ।’
पोखरा भ्रमण वर्ष २०२५ को अवसर पारेर महानगरले स्पोर्टस अवार्डलाई प्रवर्धकका रुपमा सघाउन लागेको हो।
मञ्चका अध्यक्ष अधिकारीले काठमाडौं बाहिर अवार्ड समारोह गर्नु निकै चुनौतीपूर्ण रहेपनि अवार्डलाई देशव्यापी रुपमा आयोजना गर्ने उदेश्यले चुनौती स्वीकार गरेको बताए।
अवार्डलाई प्रवर्द्धकका रुपमा साथ दिएकोमा अधिकारीले महानगरपालिकाका मेयर आचार्य र महानगरपालिका परिवार तथा सम्पूर्ण पोखरावासीलाई धन्यवाद दिएका छन्।
एनएसजेएफ गण्डकीका अध्यक्ष एमबी आस्थाले अन्तर्राष्ट्रियस्तरको अवार्ड पोखरामा हुनुलाई आफूहरूले उत्साहका साथ लिएको बताए। पल्सर स्पोर्टस अवार्ड पोखरामा आयोजना हुँदा त्यसले गण्डकी स्पोर्टस अवार्डका लागि पनि सहयोगी हुने विश्वास उनले गरेका छन्।
पल्सर स्पोर्टस अवार्डमा १० विधामा खेलाडी तथा खेलकर्मी पुरस्कृत हुँदैछन्। अवार्डमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा वर्षको उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, टिम अफ दी इयर, स्पेशल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस जर्नालिस्ट अवार्डका विधा समावेश छन्।
उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड विधाका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन्। अन्य विधाका विजेताले जनही १ लाख रुपैयाँ पाउनेछन्।
Shares

प्रतिक्रिया