खेल


बार्सिलोनामा अब १० नम्बर जर्सी यामललाई

बार्सिलोनामा अब १० नम्बर जर्सी यामललाई

नेपालखबर
असार ३२, २०८२ बुधबार २३:३०, काठमाडौँ

स्पेनिस क्लब बार्सिलोनाले क्लब इतिहासमै सबैभन्दा प्रतिष्ठित जर्सी नम्बर १० लामिन यामललाई दिएको छ। लियोनेल मेस्सीका प्रशंसक यामलले सुरुमा २७ नम्बर र त्यसपछि जर्सी नम्बर १९ लगाउँदै आएका थिए। मेस्सीले पनि बार्सिलोनामा १० नम्बर जर्सी लगाउनु पहिले १९ नम्बर नै लगाएका थिए। 

मेस्सीले बार्सिलोना छाडेसँगै १० नम्बर जर्सी बार्सिलोनाले अंशु फातीलाई दिएको थियो। फातीलाई क्लबले हालै ऋणमा मोनाकोमा पठाएसँगै १० नम्बर जर्सी खालि भएको थियो। 

यामलको जन्मदिनका अवसरमा अब १० नम्बर जर्सी क्लबले उनलाई लगाउन दिने आन्तरिक रूपमा घोषणा भएको थियो। 

नेपाली समय अनुसार बुधबार राति भने क्लब अध्यक्ष जोन लापोर्ताले यामललाई १० नम्बर जर्सी हस्तान्तरण गरेका छन्। यामल १८ वर्ष पुगेको अवसरमा उनलाई रोजाइको जर्सी नम्बर प्रदान गरिएको छ। 

बार्सिलोनाका प्रतिभाशाली खेलाडी यामलले अब नयाँ सिजन आफ्नो रोजाइको जर्सीसाथ सुरुवात गर्नेछन्। बार्सिलोनाले यामलसँग २०३१ सम्म सम्झौता गरिसकेको छ। 

नम्बर १० बार्सिलोनाको इतिहासमा सबैभन्दा प्रतिष्ठित जर्सीहरू मध्ये एक हो। डिएगो म्याराडोना, रोमारियो, रिभाल्डो, रोनाल्डिन्हो र सबैभन्दा प्रसिद्ध लियोनेल मेस्सी जस्ता दिग्गजहरूले १० नम्बर जर्सी लगाएका छन्। 

मेस्सीले २०२१ सम्म एक दशकभन्दा बढी समय १० नम्बर जर्सी लगाएका थिए। 

बार्सिलोनाले उनलाई १० नम्बर जर्सी प्रदान गरेकै दिन लामिन यामलले २०३१ सम्म क्लबसँग सम्झौता गरेको घोषणा पनि गरेको छ। 

यामलको रिलिज क्लज १ अर्ब युरोभन्दा बढी छ। विङ्गर गत सिजन बार्सिलोनाका लागि उत्कृष्ट प्रदर्शनकर्ता थिए। उनले युरो २०२४ मा स्पेनबाट पनि प्रभावशाली प्रदर्शन गरे। 

लामो सम्झौता र जर्सी नम्बर १० हस्तान्तरण गरेर बार्सिलोनाले आफ्नो योजनामा प्रमुख अंशको रूपमा यामल रहेको पनि पुष्टि गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad