प्रधानमन्त्री नियुक्त भएपछि केपी शर्मा ओलीको पहिलो निर्णय थियो– त्रिवि क्रिकेट मैदानमा ३०० दिनभित्रमा फ्लडलाइन जडान गर्ने र १० हजार क्षमताको प्यारापिट निर्माण गर्ने।
ओली प्रधानमन्त्री बनेको एक वर्ष पूरा भएपछि सोमबार प्रमुख प्रतिपक्षी दलका नेता पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट यही विषयमा प्रश्न उठाए। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले संसदबाट ओलीलाई सोधे– ‘उहाँले प्रतिष्ठाकै विषय बनाउँदै पहिलो निर्णय नै ३०० दिनभित्र फ्लडलाइट र प्यारापिटसहितको अन्तर्राष्ट्रिय रङशाला बनाउने घोषणा गर्नुभयो। तर, आज एक वर्षपछि कहाँ जोडियो त फ्लडलाइट? बन्यो त प्यारापिट? प्रधानमन्त्रीको घोषणाको यो भन्दा ठूलो निरीहता र बेइमानी के हुनसक्छ?’
त्यसअघि प्रचण्डले आफ्नै नेतृत्वको सरकारले कीर्तिपुरमा रहेको क्रिकेट रङशाला निर्माणको काम अघि बढाएको र फ्लडलाइट जडान गर्न ठेक्का पनि भएको दाबी गरे। तर, त्यही बेला सरकारबाट बाहिरिनु परेको उनले सुनाए।
संसद्मा अनुपस्थित प्रधानमन्त्रीले प्रचण्डलाई केहीबेरमै सामाजिक सञ्जालमार्फत जवाफ दिए।
‘पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालजीले आज प्रश्न सोध्नु भएछ– कीर्तिपुरको मैदानमा खोई फ्लडलाइट? खोई प्यारापिट?’ ओलीले लेखेका छन्, ‘मेरो उहाँलाई आग्रह छ, बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस्। बनिरहेको छ।’
आफूले टाइमलाइन नै तोकेर काम गर्ने कुरा गरेको तर प्रचण्डले त्यसरी केही नभनेको र केही नगरेको समेत आरोप लगाए। ओली र प्रचण्ड त्रिविको प्यारापिट र फ्लडलाइटको विषयमा सवाल–जवाफ गरिरहँदा निर्माण कम्पनीले भने फेरि २ महिना थपका लागि निवेदन दिइसकेको छ।
प्यारापिट निर्माण गरिरहेको बीकेओआई केसीडीसी–बीजी जेभीका प्यारापिट निर्माण परियोजना निर्देशक भरत गिरीले थप दुई महिना समय माग गर्दै निवेदन दिइसकेको नेपालखबरलाई बताए। निवेदनमा वर्षाले बाधा गरेका कारण २४ सै घण्टा काम गर्न नसकिएकाले समय अपुग भएको उल्लेख गरिएको छ।
२०८१ फागुन १९ गते सहरी विकास मन्त्रालय र निर्माण कम्पनी बीकेओआईबीच २०८२ वैशाख २४ गतेभित्रमा प्यारापिट निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो।
१० हजार क्षमताको प्यारापिट निर्माण गर्न ४३ करोड ७७ लाख ३० हजार ११३ रूपैयाँमा सम्झौता भएको थियो। तर सम्झौता अनुसार प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम सम्पन्न हुन सकेन। त्यसपछि २ महिना बढी समय थप गर्दै असार मसान्तसम्मको समय दिइएको थियो।
यो अवधिमा पनि प्यारापिट र फ्लडलाइट दुवैको काम नसकिने निश्चित भएको हो। दोस्रोपटकको बोलपत्र आह्वानबाट फ्लडलाइट जडान गर्ने जिम्मा एमएसआईपीएल–एएससी पावर जेभीले पाएको थियो। ६ वटा फ्लडलाइट जडानका लागि २७ करोड ४० लाख २ हजार २२ रूपैयाँमा सम्झौता भएको थियो।
थपिएको अवधिभित्र यो कम्पनीले पनि फ्लडलाइट जडानको काम सम्पन्न नगर्ने भएको हो। फ्लडलाइट जडानका लागि पनि समय थप गर्न माग गरिएको छ।
केके बन्यो, के बाँकी छ?
६ वटा फ्लडलाइटका टावर राख्नका लागि भौतिक संरचना तयार भइसकेको छ। ६ मध्ये तीनवटा टावर निर्माण कम्पनीले निर्माणस्थलमा ल्याइसकेको छ। फ्लड लाइटको आधा बढी सामग्री नै ल्याउन बाँकी छ। ६ वटा टावरमा ७० वटाका दरले ४२० वटा लाइट जडान गर्ने सम्झौता छ। हरेक टावरमा जेनेरेटर पनि जडान गर्नुपर्छ।
फ्लडलाइट जडान गर्ने जिम्मा लिएको एमएसआईपीएलले जेनेरेटर र टावरसँगै लाइटहरू पनि ढुवानी गरिसकेको छैन। टावर र लाइट जडानको काम पनि सबै बाँकी छ। यी कामका लागि थप समय चाहिने कम्पनीको माग छ।
प्यारापिट निर्माण कम्पनीका परियोजना निर्देशक भरत गिरीले आजबाट माथिल्लो साइडको ढलान सुरु भएको बताए।
आज एफ ब्लकको ढलान गरिसक्ने उनको दाबी छ। बुधबार अर्को ब्लकको संरचना तयार भइसक्ने र त्यसपछि चारवटा ब्ल्कको काम बाँकी रहने गिरीले सोमबार साँझ नेपालखबरलाई जानकारी दिए।
मैदानको पश्चिमतर्फको ६ वटा ब्लकको माथिल्लो भागको मात्रै ढलानको काम बाँकी छ। प्यारापिटका लागि संरचना तयार भइरहेका पाँचवटामध्ये चारवटा ब्लकमा बिम राख्ने काम भइसकेको छ। तीनवटाको पीसीसी पनि तयार भइसकेको र दुईवटामा डण्डी राख्ने काम पनि भइसकेको छ। निर्माण कम्पनीका अनुसार एउटा ब्लकमा भने धेरै काम गर्न बाँकी छ।
मौसम अनुकूल भए केही दिनमै प्यारापिटको संरचना तयार भइसक्ने उनले दाबी गरे।
यता कुर्सी जडान र रेलिङको काम पनि सँगसँगै भइरहेको छ।
उनका अनुसार सोमबार थप १ हजार ६ सय ५० वटा कुर्सी ल्याइएको छ। यसअघि ६ हजार ८ सय थान कुर्सी ल्याइसकिएको भए पनि जडान भने भइसकेको छैन।
अझै १ हजार ५ सय ५० कुर्सी ल्याउनै बाँकी छ।
‘कुर्सी फिटिङको काम चाहिँ कलर मिलाउनु पर्ने र केही कलरका कुर्सी नआइपुगेकाले रोकिएको थियो। आज एक गाडी कुर्सी आइपुगेको छ। ढलान भइसकेको स्थानमा मंगलबारदेखि कुर्सी फिटिङको काम पनि धमाधम अगाडि बढ्छ,’ गिरीले भने।
यसअघि नै ल्याइएका ६ हजार ८ सय कुर्सीमा फ्रेमिङको काम भइसकेको छ। तर कलर नमिलेका कारणले प्यारापिटमा फिट गर्न मिलेको थिएन।
‘आज १६ सय ५० कुर्सी आइसकेकाले यो काम पनि अब अगाडि बढ्छ। तीनवटा कुर्सीको एउटै सेटमा पनि फरकफरक रङका कुर्सीको डिजाइन परेकोले गर्दा रोकिएको हो। कलर मिलेको जति फिटिङ भइसकेको छ। अरु कलरसँग मिलाउनु पर्ने बाँकी हो,’ परियोजना निर्देशक गिरीले भने।
त्रिवि रङशालामा ५ रङका कुर्सी जडान गर्न लागिएको छ। परियोजनाका अनुसार खैरो, पहेँलो, सुन्तला जस्तो रङको, आकाशे रङको र सेतो रङका कुर्सी जडान हुनेछन्।
यसमध्ये सबैभन्दा बढी खैरो रङका कुर्सी रहनेछन्। तर अहिलेसम्म यही कुर्सी नआएकाले जडानले गति लिन नसकेको र अब यी कुर्सी पनि आइसकेको परियोजनाको दाबी छ।
प्यारापिटको अगाडिको भागहरूमा मंगलबारदेखि नै कुर्सी राख्न सुरु हुनेछ। तर माथिल्लो भागमा भने प्यारापिट ढलानको काम सकिएको १५ दिनपछि मात्रै कुर्सी जडानको काम सकिने छ।
‘कास्टिङ गरेको ८÷९ दिनपछि मात्रै हामीले कुर्सी फिटिङका लागि ड्रिल गर्छौँ। फिटिङका लागि ४÷५ दिन चाहिने भएकोले १५ दिन समय यहाँ लाग्ने हो,’ गिरीले भने, ‘रेलिङको काम पनि भइरहेको छ। हरेक बल्कलाई रेलिङ गरेर छुट्याउने हो। रेलिङ त २÷४ दिनको काम हो धेरै समय लाग्दैन। वर्षाको समस्या कास्टिङलाई नै हो। कुर्सी फिटिङ पनि रेनकोट ओढेर गर्र्छौँ।’
प्यारापिटको काम २२÷२५ दिनमा सकिने भए पनि मौसमको भर नभएकाले दुई महिनाको समय माग गरिएको दाबी उनले गरे।
‘रंगशाला उद्घाटन गर्नलाई साउनको अन्तिम पुग्ला। किनभने उद्घाटन गर्ने बेलामा हामीले सबै क्लियर गर्नुपर्यो नि। प्रतिशतमा जाने हो भने त अब करिब १० प्रतिशत कास्टिङको काम बाँकी होला,’ उनले भने।
अबका दुई विकल्प
सार्वजनिक खरिद ऐन अनुसार अब सरकारसँग यो काम गर्नका लागि दुईवटा विकल्प बाँकी छन्।
निर्माण व्यवसायी संघले सम्झौता गरेर जानाजान हेल्चेक्र्याइँ गरेर काम गरेन भन्ने लागेमा दैनिक हर्जना तिराएर बाँकी काम यही कम्पनी मार्फत गराउन सक्छ।
अर्को भैपरी समस्याले नै काम गर्न सकिएन भन्ने ठहर गरेमा बैंक ग्यारेन्टी र बिमा नवीकरण गर्न लगाएर पुनः परियोजनाको म्याद थप गरिदिन सक्ने व्यवस्था छ।
‘अब त्रिविको हाम्रो कामलाई उहाँहरूले कसरी हेर्नुहुन्छ र वास्तविकतालाई कसरी केलाउनु हुन्छ, सरकारको हातमा छ। उहाँहरूले हामीलाई समय दिनु भयो भने बैंक ग्यारेन्टी र बिमाको म्याद थप गरेर बुझाउँछौँ। परियोजना म्याद थप भएर अगाडि बढ्छ,’ निर्देशक भन्छन्, ‘होइन हामी यसरी गर्न सक्दैनौँ जरिवाना नै तिराउँछौँ भन्नुभयो र हाम्रै कमजोरी देखाउनु भयो भने हामीले नेपाल सरकारले गरेको निर्णय मान्नपर्छ र दैनिक हर्जना तिरेर काम सम्पन्न गर्नपर्छ। तर हामीलाई विश्वास छ, यो बाध्यता उहाँहरूले बुझिदिनुहुनेछ।’
दैनिक हर्जना तिर्न परेको अवस्थामा सम्झौता रकमको ०.०५ प्रतिशत रकम हरेक दिन बुझाउनुपर्ने व्यवस्था छ।
यो परियोजना नेपाल सरकारले ३०० दिनमा सम्पन्न गर्ने भनेको थियो।
तर यो अवधिमा धेरैजसो समय निर्माणको काममा भन्दा पनि कागजातको प्रक्रियामै बितेको थियो। सुरुमा सम्झौता गर्दै तीन सय दिनलाई हेरेर गरिएको थियो। जुन समय अनुसार फागुनमा सम्झौता गर्दा वैशाख २४ गतेसम्मको समय तोकिएको थियो।
२४० दिन कागजात मिलाउनै लागेकाले ६० दिनमा तयार गर्न सम्भव नभए पनि पछि हट्दा कसैलाई पनि फाइदा नहुने भएकाले सम्झौता भएको परियोजनाको दाबी छ। सुरुमा डिजाइनमा केही समस्या भएको र पछि रुखको विषयले केही समय लिए पनि पछिल्लो समय भने सरकारले सहजीकरण गरेकैले काम द्रुत गतिमा भएको र वर्षाबाहेक कुनै पनि समस्या नरहेको परियोजना निर्देशक बताउँछन्।
अब बाँकी काम सम्पन्न गर्न कसरी अगाडि बढ्ने भन्ने सरकारले दुई दिन भित्रमा टुंगो लगाउन पर्नेछ।
Shares

प्रतिक्रिया