खेल


खेलकुदमन्त्रीलाई प्रधानमन्त्रीले भने: खेल क्षेत्र राजनीति गर्ने ठाउँ होइन, एनपीएल रोकिँदैन

खेलकुदमन्त्रीलाई प्रधानमन्त्रीले भने: खेल क्षेत्र राजनीति गर्ने ठाउँ होइन, एनपीएल रोकिँदैन

नेपालखबर
असार २६, २०८२ बिहिबार १६:४२, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्रलाई राजनीतिसँग जोड्न नहुने बताएका छन्। बिहीबार ‘नेसनल हाइ पर्फमेन्स सेन्टर एन्ड स्पोर्टस् साइन्स ल्याब’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खेलकुदमन्त्री तेजुलाल चौधरीलाई लक्षित गर्दै यस्तो बताएका हुन्।

ओलीले नेपाल प्रिमियर लिग (एनपीएल)का विषयमा राजनीति भइरहेको भन्दै ओलीले खेल नरोकिने बताए।  

'सरकारमा राजनीतिक दल नै आउने हो। सरकारमा आएपछि जुन क्षेत्रको काम छ,  त्यसको विकास गर्ने हो। कृषि हो भने कृषिको विकास हुनुपर्‍यो, उद्योग हो भने उद्योगको विकास हुनुपर्‍यो। त्यहाँ राजनीतिक गर्नुभएन,' ओलीले भने, 'खेलमा हो भने खेलको विकास गर्नुपर्छ। खेललाई अगाडि लैजानुपर्छ। त्यहाँ 'पोलिटिक्स' गर्ने होइन। पोलिटिक्सका लागि 'देयर इज नो स्पेस'। जो आउँछ, उसले पोलिटिक्स गर्ने होइन खेलमा ध्यान दिनुपर्‍यो।'

एनपीएलका सन्दर्भमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल क्रिकेट संघ (क्यान)बीच विवाद छ। एनपीएलको हिसाबकिताबका सबालमा दुई निकायबीच भइरहेको विवादबीच प्रधानमन्त्री ओलीले मन्त्री चौधरीलाई खेलकुदको विकासमा लाग्न निर्देशन दिए। 

एनपीएलको कामहरू रोक्न दिएको निर्देशनमा आपत्ति जनाउँदै ओलीले क्यानलाई एनपीएलको तयारी तीव्र बनाउन आग्रह गरे। 
 
'एनपीएलको भब्य तयारी गर्नुस्। यो हाम्रो नेशनल प्राइड हो। यसलाई राष्ट्रिय स्तरमा बढाउनुपर्छ। जसरी क्रिकेटको क्रेज बढेको छ,' उनले भने, 'देशमा त्यसरी नै एनपीएललाई अगाडि लैजानुपर्छ। यसको आयोजना गर्नुस्। यो खेलिनुपर्छ।' 

ओलीले कीर्तिपुर रंगशाला सानो भयो भनेर चित्त नदुखाउन क्रिकेट समर्थकहरूलाई आग्रह पनि गरे। उनले अहिले भइरहेको निर्माण पहिलो चरणको भएको र दोस्रो चरणमा निर्माण हुँदा थप विस्तार हुने बताए।  

'कीर्तिपुर रंगशाला सानो भएर आत्तिनुभएन। यो निरन्तर विस्तार हुन्छ। धेरै जनाले हेर्ने बनाउँछौँ। अहिलेको त फस्ट फेजको काममात्र हो,' उनले थपे, 'दोस्रो फेजमा अझ ठूलो विस्तार हुन्छ। अब यो क्रिकेट मैदानमात्र होइन, रंगशालामा परिणत भएको छ। राति खेल्न मिल्ने हुनेछ। यसलाई अन्तर्राष्ट्रिय स्तरको मैदानको रूपमा विकास गर्दैछौँ।'  

ओलीले कर्णाली प्रदेशको सुर्खेतमा हुने भनिएको राष्ट्रिय खेदकुद प्रतियोगिताको मिति सरिरहेको विषयमा पनि आपत्ति जनाए। 

'अब राष्ट्रिय खेलकुद मंसिरमा हुन्छ। मन्त्रालय र सम्बन्धित निकायलाई निर्देशन दिन चाहन्छु,' उनले भने, 'अब लज्जाको विषय भएको छ। अब निर्धारित मिति सार्न मिल्दैन।' 

 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad