एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल आज (असार २१, शनिबार) राति घरेलु टोली उज्वेकिस्तानसँग भिड्दै छ।
उज्वेकिस्तानमा हुने प्रतिस्पर्धा नेपाली समयअनुसार शनिबार राति सवा ९ बजेपछि सुरु हुनेछ।
त्यसअघि नेपाली राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीहरू प्रशिक्षकहरूसँगको प्राविधिक सत्रमा भाग लिइरहेका छन्।
जुन सत्र उज्वेकिस्तानविरुद्ध कसरी जित हासिल गर्ने भन्ने विषयमा केन्द्रित छ।
खेलाडीहरू एउटै लक्ष्यका साथ उच्च मनोबलमा छन्: हामी जित्नेछौँ।
तस्बिरहरू:





अर्को वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा पुग्न नेपाल र उज्वेकिस्तान दुवै जित्नैपर्ने दबाबमा छन्। समूह चरणको अन्तिम खेल दुवै टोलीका लागि फाइनल सरह छ।
आजको खेल हार्ने टोली एसियन कपको दौडबाट बाहिरिने छ। त्यसैले दुवै टोली जित्ने लक्ष्यका साथ मैदान उत्रनेछन्।
निर्धारित ९० मिनेटमा नतिजा नआए खेल सिधै टाइब्रेकरमा जानेछ।
त्यसैले नेपाली टोली निर्धारित समयभित्रै उज्वेकिस्तानलाई हराउने रणनीतिमा हुनेछ।
समूह चरणमा लगातार दोस्रो जित हासिल गरेको नेपाल र उज्वेकिस्तानको समान ६ अंक छ। यी दुई टोलीले २ खेलमा समान १७ गोल गरेका छन्।
समूह चरणको पहिलो खेलमा लाओसलाई ९–० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ८–० ले जितेको थियो।
उता उज्वेकिस्तानले भने श्रीलंकालाई १०–० ले र लाओसलाई ७–० ले हराएको थियो।
Shares

प्रतिक्रिया