नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारी साम्बाले लाओसविरुद्ध चार गोल गरेपछि राष्ट्रिय टोलीका लागि आफ्नो गोल संख्या ६१ पुर्याएकी छन्।
एएफसी एसियन कप छनोट अन्तर्गत आइतबार भएको खेलमा नेपालले लाओसविरुद्ध ९-० को फराकिलो जित दर्ता गरेको थियो।
एकपक्षीय खेलमा नेपालको जितमा साम्बाले ह्याट्रिकसहित चार गोल गरिन्। अनिता बस्नेत, सरु लिम्बु, रश्मी कुमारी घिसिङ र अनिता केसीको नाममा समान एक गोल रह्यो। एक गाेल आत्माघाती उपहार पाएकाे थियाे।
नेपालको एक सयौँ अन्तराष्ट्रिय खेलमा साम्बाले कप्तानी सम्हालेकी थिइन्। लाओसविरुद्ध नेपालले सानदार जित दर्ता गर्दा साम्बाले कप्तानी गोल गरिन्।
नेपाली टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डेले साम्बालाई कप्तानको आर्म ब्यान्ड दिएका थिए। यो सँगै साम्बा नेपालको ११ औँ कप्तान बनिन्।
सन् २०१४ मा भारतमा भएको साफ महिला च्याम्पियनसिपमा भुटानविरुद्ध खेल्दै राष्ट्रिय टोलीमा डेब्यु गरेकी साम्बाले ५९ खेलमा ६१ गोल गरेकी हुन्। साम्बा दक्षिण एसिया कै सर्वाधिक गोलकर्ता समेत हुन्।
साम्बापछि राष्ट्रिय टोलीकै पुर्व कप्तान अनु लामाको नाममा ३५ गोलको कीर्तिमान छ।
नेपाल कै पुरुष टोलीतर्फ हरि खड्का, निरन्जन रायमाझी र अन्जन विष्टको नाममा समान १३ गोलको किर्तिमान छ।
समूह चरणको दोस्रो खेलमा नेपालले १८ गते श्रीलंकासँग खेल्नेछ। समूह चरणको अन्तिम खेलमा २१ गते उज्वेकिस्तानसँग खेल्ने तालिका छ।
Shares

प्रतिक्रिया