खेल


अरुणमान जोशीले एन्फाको सहायक महासचिव पदबाट दिए राजीनामा

अरुणमान जोशीले एन्फाको सहायक महासचिव पदबाट दिए राजीनामा

नेपालखबर
असार ११, २०८२ बुधबार ११:४५, काठमाडौँ

ए डिभिजन लिग सकिएको दुई वर्षपछि थ्रीस्टार क्लब रेलिगेसनमा परेपछि क्लबका पूर्वअध्यक्ष अरुणमान जोशीले अखिल नेपाल फुटबल संघ (एन्फा) को सहायक महासचिव पदबाट राजीनामा दिएका छन्।

जोशीले बुधबार विज्ञप्ति जारी गरी आफूले एन्फाको सहायक महासचिवबाट राजिनामा दिएको जानकारी दिएका हुन्। 

जोशीले २०७९/८० को सहिद स्मारक ए डिभिजन लिग हुँदा आफू थ्रीस्टारको अध्यक्ष रहेको र एन्फाले पूर्वाग्रह राखेर क्लबप्रति अन्याय गरेका कारण नैतिकताका आधारमा सहायक महासचिव पदमा बसिरहन उपयुक्त नठानी राजीनामा दिएको विज्ञप्तिमा उल्लेख गरेका छन्।

जोशीले विज्ञप्तिमा लेखेका छन्, ‘२०८० जेठ २७ गते सम्पन्न ए डिभिजन लिगअन्तर्गत जावलाखेल युथ क्लबसँगको अन्तिम खेलमा थ्री स्टार क्लबले भिसाको म्याद सकिएको दुई विदेशी खेलाडी खेलाएको भन्दै १–० ले विजय भएको खेललाई एन्फाको पुनरावेदन समितिबाट उल्टाउने निर्णय भएको भन्ने जानकारी गराएको रहेछ। दुई पक्षबीच भएको खेलमा खेलसँग सम्बन्धित नभएका एपीएफ फुटबल क्लबको उजुरीको आधारमा कारबाही गरेर उक्त खेलबाट थ्री स्टार क्लबलाई एन्फाको पुनरावेदन समितिबाट प्राप्त अंक परिवतन गर्ने र उक्त अंक सो खेलमा सहभागी प्रतिस्पर्धी क्लबले प्राप्त गर्ने निर्णय गरेको रहेछ। सोही विषयको सम्बन्धमा यसअघि अनुशासन समितिले ती दुई खेलाडी र क्लबलाई समेत जरिवाना गर्ने निर्णय गरेको थियो। एउटा घटनामा पटकपटक कारबाहीको निर्णय गर्न मिल्छ?’

जोशीले एन्फालाई प्रश्नैप्रश्न गरेका छन्।

उनले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘पछिल्लो निर्णय लिनका लागि एन्फाको अनुशासन समिति र पुनरावेदन समितिले २ वर्षभन्दा लामो समय किन लियो? सोमा शंका गर्ने पर्याप्त ठाउँ रहेको छ। एन्फाका तत्कालीन फिफा कनेक्ट अफिसरले हालै विभिन्न सोसल मिडियामा दिएको अन्तर्वार्ताका अनुसार ती दुई विदेशी खेलाडीलाई थ्री स्टार क्लब र जावलाखेल युथ क्लबबीचको उक्त खेलमा खेल्न दिनु भनेर एन्फा सचिवालयबाटै निर्देशन दिइएकोले फिफा कनेक्टमा खेलाडी दर्ता भई खेल खेल्न सहभागि गराइएको थियो। के आधारमा त्यो निर्देशन दिइयो? एन्फा स्वयंले दिएको निर्देशनबाट एन्फा सचिवालय अर्थात एन्फाबाट गल्ति भएको भए सो को जिम्मेवार एन्फा हुनुपर्ने हो। आफूले गरेको गल्ती अरूलाई दिन कदापि मिल्ने होइन। कुनै पनि दुई टोलीबीचको खेलको विषयमा तेस्रो क्लबले उजुरी दिन मिल्छ भन्ने लिग सञ्चालन नियमावलीमा उल्लेख गरेको छैन। त्यो खेलमा संलग्न नभएको एपीएफ फुटबल क्लबको उजुरीलाई एन्फाले के कुन आधारमा स्वीकार गर्‍यो? गैरकानुनी रूपमा उजुरी लिई सो उजुरीको आधारमा भएको एन्फाको पुनरावेदन समितिको निर्णय कति जायज? एन्फाले ए, बी र सी डिभिजनका बारेमा लिएका पछिल्ला निर्णय विवादास्पद रहँदै आएका छन्। एन्फाको सहायक महासचिवका रूपमा मैले पनि त्यो नजिकबाट महसुस गरेको छु। एन्फाले फुटबलको भावना, मर्म र नियमविपरीत लिएका कतिपय अन्यायपूर्ण कदमबाट मैले आफूलाई अलग राखेको छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad