आगामी शुक्रबारदेखि शुरु हुने प्रथम मिस्टर महानगर बडीबिल्डिङ च्याम्पियनसिप २०८२ को तयारी पूरा भएको छ।
काठमाडौँ महानगरपालिका–२२ वडाको आयोजनामा आगामी असार ६ र ७ गते प्रथम मिस्टर महानगर बडीबल्डिङ च्याम्पियनसिप हुँदैछ।
आयोजक काठमाडौं महानगरपालिका वडा–२२ ले मंगलवार प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो। यस प्रतियोगिता कुल ६ तौलसमूहमा प्रतिस्पर्धा हुँदै छ। उक्त प्रतियोगिता राष्ट्रिय सभा गृहमा नै सन्चालन हुनेछ।
प्रतियोगिमा पुरूष ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ भन्दा माथि तौलसमूहमा प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ। प्रत्येक तौल समूहको विजेताहरु मिस्टर महानगरको ओभरअल प्रतिस्पर्धामा खेल्नका लागि छनोट हुनेछन्।
ओभरअल विजेता खेलाडीले मिस्टर महानगरको उपाधिसहित नगद पाँच लाख, ट्रफी र ब्यानेट पाउनेछ। प्रत्येक तौल समूहबाट प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः स्वर्ण, रजत तथा कांस्य पदकसहित नगद पुरस्कार पाउनेछन्।
हरेक तौल समूहमा विजेता, उपविजेता र तेस्रो स्थानमा रहने खेलाडीले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रूपैयाँ पुरस्कार प्रदान गरिनेछ। साथै चौथो र पाँचौं हुने खेलाडीले पनि क्रमशः १५ हजार र १० हजार रुपैयाँ र पदक पाउनेछन्।
काठमाडौँ महानगरपालिका वडा–२२ ले ‘व्यायाम गरौं, स्वस्थ रहौं’, ’स्वास्थ्यका लागि व्यायाम’, भन्ने नारासहित प्रथम मिस्टर महानगर बडीबिल्डिङ च्याम्पियनसिप गर्न लागेको हो। असार ६ गते तौल नाप्ने कार्य हुनेछ भने दोस्रो दिन प्रिजजिङ र फाइनल खेल हुने आयोजकले जनाएको छ।
पहिलो संस्करणमा पुरुष खेलाडीको मात्र प्रतिष्पर्धा हुने भएको छ। अर्को वर्षबाट महिला तर्फबाट पनि प्रतिष्पर्धा गराउने काठमाडौं महहानगरपालिका वडा–२२ का अध्यक्ष चिनीकाजी महर्जनले जानकारी दिए।
नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको सहकार्य तथा काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा यो प्रतियोगिता हुन लागेको हो।
यस प्रतियोगिताको अवसरमा शारीरिक सुगठन क्षेत्रमा अतुलनीय योगदान दिने व्यक्तित्वहरूलाई पनि सम्मान गरिने आयोजकले जनाएको छ।
Shares

प्रतिक्रिया