फिफा विश्वकप २०२६ आउन अब एक वर्षभन्दा कम समय बाँकी छ।
सन् २०२६ को जुन ११ मा मेक्सिकोमा उद्घाटन खेल खेल्दै फिफा विश्वकपको औपचारिक सुरुवात हुनेछ।
पहिलो पटक ४८ टोलीको सहभागिता रहने विश्वकप तीन देशका १६ शहरहरूमा भव्य रुपमा हुनेछ। यो विश्वकपलाई इतिहास कै सबैभन्दा ठूलो र समावेशी फिफा विश्वकपको रुपमा लिइएको छ।
सन् २०२६ को संस्करणले क्यानडा, मेक्सिको र अमेरिकाभरिका रगंशालाहरूमा ६५ लाख प्रशंसकलाई स्वागत गर्ने अपेक्षा गरिएको छ। यो विश्वकपले महादेश र पूरा विश्वलाई फुटबलको माध्यमबाट एकताबद्ध गर्ने आशा गरिएको छ।
एक वर्षपछि हुने विश्वकप सबैभन्दा ठूलो फुटबल कार्यक्रम भएकाले यसले पुरै संसारलाई मोहित पार्ने फिफा अध्यक्ष जियानी इन्फाटिनोले बताए।
उनले भने, ‘यो एउटा प्रतियोगिता मात्र होइन, यो सम्बन्ध, एकता र जोशको विश्वव्यापी उत्साह हो। विश्वको हरेक कुनाबाट टोलीहरू छनोट हुँदै जाँदा प्रशंसकहरू इतिहासको हिस्सा बन्ने योजना बनाउदै गर्दा फिफा विश्वकपको सपना वास्तविकतामा परिणत हुँदैछन्।’
विश्वकपअघि अमेरिकाले फिफा क्लब विश्वकप आयोजना गर्दैछ। शनिबारदेखि सुरु हुने विश्वकप फ्लोरिडाको मियामीमा हुदैछ। फिफा क्लब विश्वकपमा विश्वभरका ३२ उत्कृष्ट क्लबले विश्व च्याम्पियन बन्न प्रतिस्पर्धा गर्दैछन्।
फिफा विश्वकपका लागि १ वर्ष अगाडिदेखि १६ आयोजक शहरले काउन्टडाउनका लागि घडीहरू सार्वजनिक गरिसकेका छन्। जसमा शहरको स्थानिय ब्राण्ड समेत समावेश छन्। यी घडीहरू आयोजक शहरका केन्द्रिय र प्रतिष्ठित शहरहरूमा स्थापित गरिएका छन्। जसले ११ जुन २०२६ को मध्यरातमा स्ट्रोकसम्म गणना गरिनेछ।
विश्वकप अघि उत्तर अमेरिकाभर स्थानियस्तरमा कार्यक्रम, सरोकारवालासँग उत्सवका कार्यक्रम आयोजना हुनेछन्। विश्वकप आयोजक शहरले त्यहाँका स्थानियक सेलिब्रेटी वा त्यहाँका विशेष व्यक्तीलाई प्रस्तुत गर्ने भिडियो सार्वजनिक गर्नेछन्। जसले सबै शहरलाई अपनत्व महसुस होस्।
फिफा विश्वकपका लागि अहिलेसम्म १३ राष्ट्रको टुङ्गो लागिसकेको छ। आयोजक क्यानडा, मेक्सिको र अमेरिकासँगै १० टोलीले स्थान पक्का गरिसकेका छन्।
विश्वकप २०२६ का लागि साविक विजेता अर्जेन्टिनासँगै जोर्डन र उज्वेकिस्तान पहिलो पटक छनोट भएका छन्। यस्तै अष्टे«लिया, ब्राजिल, इक्वेडर, आइआर इरान, जापान, कोरिया र न्युजिल्यान्डले स्थान सुरक्षित गरिसकेका छन्। बाँकी ३५ टोलीहरू मार्च २०२६ सम्ममा टुङ्गो लागिसक्नेछ।
फिफा विश्वकप क्यानडाको टोरोन्टो र भ्यानकुभर तथा मेक्सिकोको ग्वाडालजारा, मेक्सिको सिटी र मोन्टेरीमा हुनेछ।
अमेरिकाको ११ शहरमा खेल हुनेछन्। अमेरिकाको एटलान्टा, बोस्टोन, डालास, ह्युष्टोन, कान्सास सिटी, लस एन्जल, मियामी, न्युयोर्क न्यु जर्सी, फिलाडेल्फिया, सिएटल र सान फ्रान्सिस्कोमा हुनेछ।
Shares

प्रतिक्रिया