पहिलो पटक विश्वकप छनोट भएपछि उज्वेकिस्तानका खेलाडीहरूले कार उपहार पाएका छन्। तैमुर कपाड्जेको मुख्य प्रशिक्षणमा रहेको उज्वेकिस्तान पहिलो पटक विश्वकपमा छनोट हुँदै इतिहास रचेको हो।
समूह चरणको खेलमा आबुधावीमा संयुक्त अरब एमिरेन्ट्स (यूएई) सँग गोलरहित बराबरी खेलेपछि उज्वेकिस्तान फिफा विश्वकप -२०२६ मा छनोट भएको हो।
गोलरक्षक उत्किर युसुपोभले दोस्रो हाफमा तीन उत्कृष्ट बचाउ गरेपछि उज्वेकिस्तानले गोलरहित बराबरी खेलेको थियो। सोभियत संघबाट सन् १९९१ मा स्वतन्त भएपछि उज्वेकिस्तान पहिलो पटक विश्वकपमा पुगेको हो।
टोलीका मुख्य प्रशिक्षक कपाड्जेले विश्वकपको छनोटमा पुगेको ऐतिहासिक जित उज्बेक नागरिकलाई सर्मपित गर्दै खेलाडीहरूको सामूहिक प्रयासको प्रंशसा गरे।
विश्वकपमा छनोट भएपछि उनले भने, 'हामीले लामो यात्रा तय गरेका छौँ र यो महत्त्पूर्ण नतिजा हात पारेका छौँ।'
उज्वेकिस्तान फर्किएपछि टोलीका खेलाडी, प्रशिक्षकसहित ४० सदस्यीय टोलीलाई चाइनिज ब्राण्ड बिवाइडीको स्लीक कार उपहार दिइएको हो।

उज्वेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभले टोलीका सदस्यहरुलाई मानार्थ उपाधि र पदक दिने आशेदमा हस्ताक्षर गरेका छन्।
उज्वेकिस्तानका यसअघि समूह चरणमा कतारलाई ३-० ले हराएको थियो। समूह ए मा रहेको उज्वेकिस्तान इरानलाई पछि पार्दै समूहको दोस्रो स्थानमा छ।
सन् २०२६ को फिफा विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा हुँदैछ। विश्वकपमा पहिलो पटक ४८ राष्ट्रले भाग लिनेछन्। अहिलेसम्म १३ राष्ट्र विश्वकपका लागि छनोट भएका छन्।
Shares

प्रतिक्रिया