बहुप्रतिक्षित प्रशिक्षक कार्लो एन्सेलोटीको डेब्यू खेलमा ब्राजिल गोलरहित बराबरीमा रोकिएको छ। शुक्रबार बिहान इक्वेडरसँग ब्राजिलले अंक बाँडेको हो।
यो नतिजासँगै ब्राजिललाई पाराग्वेले पनि पछि पारेको छ। पारेग्वेले शुक्रबार नै उरुग्वेलाई २–० ले पराजित गरेको छ।
अर्को खेलमा शीर्षस्थानको अर्जेन्टिनाले तालिकाको अन्तिममा रहेको चिलीलाई १–० ले पराजित गर्यो।
स्पेनिस क्लब रियल मड्रिडलाई जारी सिजन खालिहात बनाएपछि बाहिरिएका एन्सेलोटीले लगतै ब्राजिलियन टोली सम्हालेका थिए। तर उनले रियलको पछिल्लो हालत जस्तै नतिजा निकाले।
पाँच पटकको विश्व विजेता टोली इक्वेडरको दृढ रक्षापंक्तिलाई तोड्न असमर्थ रह्यो। यो नतिजापछि ब्राजिल १५ खेलबाट २२ अंकसहित छनोट समूहमा चौथो स्थानमा छ। इक्वेडर २४ अंकसहित दोस्रो स्थानमा छ। अर्जेन्टिना भने समान खेलबाट १० अंक अगाडी छ।
एथ्लेटिको मड्रिडका फरवार्ड जुलियन अल्भारेजको गोलमा नियोनल मेस्सीको टोलीले चिलीलाई १–० ले पराजित भयो। इन्टर मियामीका प्लेमेकर मेस्सी भने यो खेलमा दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान उत्रिएका थिए।
अर्को खेलमा पारेग्वेले उरुग्वेलाई २–० ले पराजित गर्दा इक्वेडरसँग समान २४ अंक बनाएको छ। ब्राइटनका फरुवार्ड जुलियो एन्सिसोले निर्धारित समय सकिन ९ मिनेट बाँकी रहँदा पेनाल्टीमा गोल गर्दै ३ अंक सुरक्षित गरे। तर त्यसअघि नै टालेरेसका मिडफिल्डर माटियास गालार्जाले अग्रता दिलाएका थिए।
दक्षिण अमेरिकी छनोटबाट शीर्षस्थानका ६ टोली सन् २०२६ मा अमेरिका र क्यानडामा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा सहभागी हुनेछन्।
Shares

प्रतिक्रिया