सायम कलेजको आयोजनामा हाइसेन्स नेपाल प्रथम सायम अन्तरकलेज सेभेन ए साइड फुटसल प्रतियोगिता असार ११ गतेदेखि हुने भएको छ।
प्रतियोगितामा २४ देखि ३२ छात्र टिमको सहभागिता अपेक्षा गरिएको सायमका प्रिन्सिपल अशोकराज पाण्डेले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। स्नातक तह सेमेस्टर प्रणालीका कलेजले प्रतियोगितामा सहभागी हुने छन्। प्रतियोगिताको मुख्य प्रायोजकमा एसीको विक्रेता हाइसेन्स नेपाल रहेको छ।
शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ९० हजार, ४० हजार र २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। उत्कृष्ट खेलाडीले ५ हजार तथा उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले समान ३–३ हजार नगद पुरस्कारसहित गिफ्ट भौचर प्राप्त गर्ने छन्। उत्कृष्ट प्रशिक्षकले ट्रफीसहित गिफ्ट भौचर पाउने छन्।
प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख ५० हजार खर्च हुने सायमका भाइस प्रिन्सिपल विशाल श्रेष्ठले जानकारी दिए। तीनदिने प्रतियोगिताका खेलहरु भक्तपुरको दिब्येश्वरी प्लानिङस्थित रोयल नेपाल फुटसलमा लिग कम नकआउट आधारमा खेलाइने छ।
सायम प्रिमियर लिग इन्ट्रा कलेज क्रिकेटको पाँचौं संस्करण सफलतापूर्वक आयोजना गरिसकेको सायमले पहिलोपटक फुटसल आयोजना गर्न लागेको प्रतियोगिता संयोजक दशरथ शाहीले बताए। उनले आगामी दिनमा महिलाको फुटसल पनि आयोजना गर्ने सोच रहेको बताए।
Shares

प्रतिक्रिया