खेल


पन्जाबलाई हराउँदै आरसीबीले उचाल्यो आईपीएलको उपाधि

पन्जाबलाई हराउँदै आरसीबीले उचाल्यो आईपीएलको उपाधि

नेपालखबर
जेठ २०, २०८२ मंगलबार २३:४४, काठमाडौँ

पन्जाब किग्संलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। 

मंगलबार राति सम्पन्न आईपीएलको १८ औँ संस्करणले आठौँ नयाँ च्याम्पियन पाएको हो। यसअघि सात टोलीले आईपीएलको उपाधि जित्दा आरसीबी रित्तो हात थियो।

आरसीबी यसपालि पञ्जाबलाई ६ रनले हराउँदै नयाँ च्याम्पियनका रुपमा उदाएको हो।

यस सिजनमा यी दुई टोलीबीच चौथोपटक भेट भएको हो। यी चार भेटमा आरसीबीले तीनपटक जित निकालेको छ। पञ्जाबले एक खेलमा मात्र जित निकालेको छ। 

यसअघि तीनपटक आईपीएलको फाइनल खेलेको आरसीबीले चौथो प्रयासमा उपाधि चुम्न सफल भएको हो। यसअघि आईपीएलको फाइनल खेल्ने टोलीमा विराट कोहली मात्र एक्ला खेलाडी हुन्। 

आरसीबीले यसअघि सन् २००९, २०११ र २०१६ मा फाइनल खेलेको थियो। 

उता ११ वर्षपछि उपाधिनजिक पुगेको पञ्जाब दोस्रोपटक पनि उपाधिबाट वञ्चित भएको छ। पञ्जाबले सन् २०१४ मा पहिलोपटक फाइनल खेलेको थियो। 

आरसीबीले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८४ रन मात्र बनाउन सक्यो।

पञ्जाबका जस इङ्लिसले बनाएको ३९ रन नै टोलीका लागि सर्वाधिक रह्यो। उनले २३ बलमा १ चौका र ४ छक्का प्रहार गर्दा क्रुनाल पाण्ड्याको बलमा क्याच आउट हुन पुगे। 

ओपनर प्रियांश आर्याले २४ र प्रविसिमरन सिंहले २६ रन थपे। पहिलो विकेटका लागि आर्या र सिंहले ४.६ ओभरमा ४३ रनको साझेदारी गरेका थिए। 

नेहाल वाडेरा १५ रनमा क्याच आउट हुन पुगे। 

त्यसअघि अहमावादस्थित नरेन्द्र मोदी स्टेडियममा पञ्जाबले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बैग्लोरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ९० रनको योगफल तयार पारेको थियो।

बैग्लोरका लागि विराट कोहलीले सर्वाधिक ४३ रनको योगदान दिए। कोहलीले ३५ बलमा ३ चौका प्रहार गर्दा ४३ रन बनाउँदा अज्मतुल्लाह ओमारजाइको बलमा कट एण्ड बोल्ड हुन पुगे। 

कप्तान रजत पाटादारले १६ बलमा १ चौका र २ छक्का सहयोगमा २६ रन बनाउँदा केल जेमिसनको बलमा एलबीडब्लु धरापमा परे। मयंक अग्रवालले २४ र ओपनर फिल साल्टले १६ रन थपे। लियाम लिभिङस्टोनले २५ रन बनाउँदा केल जेमिसनको बलमा एलबीडब्लु धरापमा परे। 

१० बलमा २ चौका र २ छक्का प्रहार गर्दै २४ रन बनाएका जितेश शर्मा विजय कुमारको बलमा बोल्ड आउट हुन पुगे। रोमारियो सेफर्ड १७ रन बनाउँदा अर्सदिप सिंहको बलमा एलबीडब्लु धरापमा परे। 

पञ्जाबका लागि काइल जेमिसन र अर्सदिन सिंहले समान ३ विकेट झारे। अज्मतुल्लाह ओमारजाइ, विजयकुमार र युजभेन्द्र चाहालले समान एक विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad