काठमाडौं र ललितपुरका सम्पदा जोड्ने गरी यही जेठ २४ गते शनिबार नेपाल हेरिटेज रन आयोजना हुने भएको छ।
यसको तयारी अन्तिम चरणमा पुगेको आयोजक रेस नेपालले जनाएको छ। उक्त दौडमा सहभागी हुने २५० भन्दा बढी नेपालीले नाम दर्ता गरिसकेका छन् भने केन्या, भारतलगायतका देशबाट पनि सहभागीहरु आउनेछन्।
विश्व सम्पदा सूचीमा परेका नेपाली सम्पदाको महत्त्व बुझाउन, संरक्षण तथा प्रवर्द्धनमा टेवा पु¥याउने उद्देश्यले नेपाल हेरिटेज रन आयोजना गर्न लागिएको हो।
त्यसअघि काठमाडौंमा विश्व रनिङको साझा संस्था एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स)को बोर्ड बैठक बस्नेछ। जेठ २१ र २२ गते ललितपुरको होटल हिमालयमा बस्ने बैठकका लागि एम्स बोर्ड सदस्य काठमाडौं आउने क्रम सुरु भएको छ। त्यस्तै एम्सको बोर्ड बैठकलगत्तै जेठ २३ गते नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स हुनेछ।
एम्सको बोर्ड बैठक नेपालमा आयोजना हुनलागेको सन्दर्भमा हेरिटेज रन सुरु गर्न लागिएको आयोजकको भनाइ छ।
हेरिटेज रनको लागि २५ किमि दूरीको दौड रुट तयार गरिएको छ। त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालाबाट सुरु हुने रन थापाथली, पुलचोक, पाटन दरबार क्षेत्र, ग्वार्को, विमानस्थल गेट, गौशाला, कमलपोखरी, दरबारमार्ग, लैनचौर, स्वयम्भू, परोपकार, वसन्तपुर, न्युरोड, रत्नपार्क, भद्रकाली सुन्धारा, दशरथ रंगशाला पुगेर रन पूरा हुनेछ।
योसँगै विद्यालयस्तरीय विद्यार्थी र भेट्रानतर्फ ५ किमि दौड समावेश गरिएको छ। तीनवटै विधाका दौडका लागि बिहीबारसम्म दर्ता खुला हुनेछ।
दौड सञ्चालनका लागि नेपाल एथ्लेटिक्स परिवारसाग सहआयोजकका रुपमा सहकार्य भएको आयोजक रेस नेपालले जनाएको छ। दौड व्यवस्थापनो संयोजकको जिम्मा राजन खत्रीले पाएका छन्।
२५ किमितर्फका पुरुष र महिला विजेताले नगद १ लाख, उपविजेताले ५० हजार, तेस्रो हुनेले २५ हजार, चौथोले १० हजार, पाँचौँले ५ हजार र छैटौँदेखि १०औँसम्म जनही २ हजार, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।
१८ वर्षमुनि ५ किमि छात्रछात्रा तथा महिला र पुरुष भेट्रानतर्फ शीर्ष १० जनालाई १० हजार, ६ हजार, ३ हजार, २ हजार र १–१ हजार प्रदान गरिने आयोजकले उल्लेख गरेको छ। नेपालमा पहिलोपटक हुनलागेको हेरिटेज रनले खेलाडीलाई उत्साह थप्ने अपेक्षा आयोजकको छ।
एम्सको बोर्ड बैठक, कंग्रेस वा कन्फ्रेन्सका क्रममा रोड रेस गर्नुपर्ने प्रोटकल छ। यसै अवसरलाई सदुपयोग गर्दै २५ किमिको दौड आयोजना गरिएको हो।
‘निजी तथा सरकारी दुवैको उत्साहजनक साथ पाए हरेक वर्ष नेपालमा कन्फ्रेन्स र हेरिटेज रन निरन्तर हुनेछ’, आयोजक रेस नेपालका अध्यक्ष टीएस ठकुरीले भने।
अन्तर्राष्ट्रियस्तरका धावक वा आयोजकहरुलाई नेपाल ल्याउने यो प्रभावकारी माध्यम बन्नसक्ने उनले बताए। यसले नेपालको खेल पर्यटनमा योगदान दिने भएकाले सोहीअनुसार कन्फ्रेन्स र हेरिटेज रन परिकल्पना गरिएको उनको भनाइ छ।
नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स विश्व म्याराथनको साझा संस्था एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स)सँगको सहकार्यमा २३ जेठ शुक्रबार दौडसम्बन्धी अन्तर्राष्ट्रिय कन्फ्रेन्स आयोजना गरिएको हो। यस्तो कन्फ्रेन्स दक्षिण एसियामै पहिलोपटक नेपालमा हुनलागेको हो।
कन्फ्रेन्समा शिक्षा, खेलकुद र पर्यटनसँग सम्बन्धित ४ सेसन रहनेछन्। पहिलो सेसनमा एम्सका अध्यक्ष पाको बोराओसँग नेपाली धाविका सन्तोषी श्रेष्ठले विशेष साक्षात्कार गर्नेछिन्। पाको विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनका रेस डाइरेक्टर हुन्।
त्यसैगरी एभरेस्ट म्याराथनका संस्थापक विक्रम पाण्डेले प्रवचन दिने कार्यक्रम छ। त्यसैगरी विश्वका प्रतिष्ठित म्याराथनका सञ्चालक तथा प्रमुख व्यक्तित्वले आफ्ना अनुभव प्रस्तुत गर्नेछन्। यसैगरी खेलकद र पर्यटन ः आर्थिक र सांस्कृतिक सम्भावनाको ढोका खोल्दै र दिगो भविष्यका लागि दौड ः स्वास्थ्य, शिक्षा, जलवायु कार्य र विश्वव्यापी एकतालाई प्रवर्द्धन गर्दै गरी दुई विषय रहनेछन्। हरेक सत्रमा दुई विदेशी र दुई नेपाली गरी चार वक्ता र एक सहजकर्ता रहनेछन्।
एम्सको बोर्ड बैठकलगायत अन्य कार्यक्रम व्यवस्थित र फलदायी बनाउन नेपालका प्रतिष्ठित म्याराथन आयोजकहरु रहेको मूल आयोजक समिति गठन गरिनेछ।
कन्फ्रेन्समा युरोप, अमेरिका, जापान, थाइल्यान्ड, मलेसिया, भियतनाम, इन्डोनेसिया, सिंगापुरलगायत दक्षिण एसियाली राष्ट्रहरु गरी दुई दर्जन बढी देशका प्रतिनिधि सहभागी हुने बताइएको छ।
Shares

प्रतिक्रिया