काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्मा रहेको बहुउदेश्यीय कभर्ड हलको इतिहास निकै लामो छ। कभर्डहलको इतिहास जति लामो छ, त्यति नै छन् यसका समस्या पनि।
लामो इतिहास बोकेको यो कभर्डहल दोस्रोपटक पुनःसंरचना भइरहेको छ। यसअघि २०५६ मा काठमाडौँमा भएको आठौँ दक्षिण एसियाली खेलकुदको समयमा स्तरोन्नति र प्रबलीकरण गरिएको थियो। त्यसयता यसमा सामान्य रङरोगनका कार्य मात्रै हुँदै आएका थिए।
२०२१ सालमा भारतीय दूतावासले हाल नेपाली सेनाको मुख्यालय रहेको स्थानमा फलाम, जस्तापाता लगायतको मेला आयोजना गरेको थियो। मेला आयोजनापछि दूतावासले ती सबै सामान त्यही छाडेर गयो। त्यही सामानबाट त्रिपुरेश्वरस्थित कभर्ड हलको प्रारम्भिक निमार्ण कार्य सुरु भएको इतिहास छ। २०२४ सालमा कुमार खड्गविक्रम शाह राखेपको सदस्यसचिव बने। उनले रगंशाला निर्माणलाई आफ्नो मुख्य एजेन्डा बनाउँदा कभर्ड हल निर्माण पनि पर्यो। २०२८ सालमा कभर्डहलको उद्घाटन भयो।
राष्ट्रिय खेलकुद परिषद्का पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख राजु श्रेष्ठले भने, 'यो कभर्डहलको निमार्ण भएपछि पहिलोपटक आठौँ साफको समयमा स्तरोन्नतिको काम भएको थियो। त्यसपछि सामान्य मर्मत मात्र हुँदै आएको थियो। तर यसपटक अन्तर्राष्ट्रिय मान्यता अनुसारको बनाउन लागेका हौँ। डीपीआर तयार पार्दा साढे ९ करोडको लागत निस्किएको थियो। तर सरकारले ५ करोड रुपैयाँ दिएको छ। आगामी वर्षका लागि बजेट फेरि प्रस्ताव गरेका छौँ।'

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङका अनुसार अब फेरिएको कभर्ड हलमा पुग्दा दर्शकले फरक महसुस गर्न पाउनेछन्। हलमा सिट क्षमतामा खासै परिवर्तन नभए पनि अन्य कुरा परिवर्तन गरिनेछ।
'सम्झौता अनुसार ६० दिनमा काम सक्ने लक्ष्य रहेको छ। असार १५ गतेसम्म काम सक्ने गरेर लक्ष्य छ,' उनले भने, 'अहिलेसम्मको कामको अवस्था हेर्दा सकिने विश्वास छ। अहिले दुई सत्रमा काम भइरहेको छ। हलमा साउन्ड सिस्टमदेखि लिएर एयर कन्डिसनरको व्यवस्था गर्न लागिएको छ।'
सुन्दा र हेर्दा सामान्य लाग्ने तर जटिल देखिएको परेवाको समस्या समाधानका लागि पनि काम भइरहेको उनको भनाइ छ। परेवाको व्यवस्थापनका लागि कभर्ड हलबाहिर गुँड राख्ने तयारी पनि भइरहेको छ।

काठमाडौँमा हुने भलिबल, बास्केटबल लगायतका खेलका लागि यही हलको भर पर्दै आउनुपर्ने बाध्यात्मक परिस्थिति छ। कभर्ड हलको मर्मतको काम जारी रहँदा नवौँ पीएम कप एनभीए भलिबल लिग पोखरामा जारी छ।
नेपालमा खेलकुदलाई राज्यले केही हेरिदिएको भए हामीसँग एउटा मात्र कभर्ड हल छ भन्नु पर्ने अवस्था नआउने निर्माण शाखा प्रमुख श्रेष्ठ बताउँछन्।
उनले भने, 'यो रेनोभेसनको कारण नै पोखरामा प्रतियोगिता सारिएको हो। यो भन्दा ठूलो हल पोखरामा छ। वीरगन्जमाका बनाउन सुरु गरेका थियौँ। कहिले ५० लाख त कहिले १ करोड रुपैयाँ आउने भएको थियो। त्यहाँ डीपीसीको काम मात्र भएको छ।

'खेलकुद पूर्वाधारको नीति नबुझ्दा यस्तो समस्या आएको हो। खेलको स्ट्यान्डर्ड अनुसार बनाउन पर्छ। अन्य कार्यालयका लागि ५ आनामा पुग्ने थियो तर भलिबलका लागि सबै भौतिक संरचना बनाउन करिब ४०-५० रोपनी जग्गा चाहिन्छ,' उनले भने, 'त्यसैले लगानी पनि धेरै लाग्छ। १ अर्बको डीपीआर हुँदा वर्षको १ करोड दिएर पुग्दैन।'
सदस्यसचिव घिसिङले भने, 'प्लेयर चेन्जिङ रुमदेखि लिएर, प्यासेज, सावर रुमहरू बनाइँदैछ। अन्तर्राष्ट्रिय मापदण्डअनुसारको बनाउन लाग्दैछौँ। साउन्डको समस्याका कारण औपचारिक कार्यक्रममा पनि समस्या आउने गर्थ्यो। त्यसको समाधानका लागि काम भइरहेको छ, त्यस्तै जाडोमा एकदम चिसो र गर्मीमा धेरै गर्मी हुने गर्थ्यो। त्यसलाई ध्यानमा राख्दै एयर कन्डिसनर राख्न लागेका छौँ। यससँगै अन्य पक्षलाई पनि ध्यान दिएका छौँ।'
दर्शकलाई आउन जानका लागि समस्या नआउने गरेर काम भइरहेको छ। त्यसका लागि राखेपले खेल आयोजकसँग कुरा गरेर समस्या समाधान गर्ने योजना रहेको बताएको छ।










प्रतिक्रिया