इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा स्थान बनाउन आज (बुधबार) मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स भिड्दै छन्।
मुम्बईको घरेलु मैदानमा हुने खेल राति पौने ८ बजे सुरु हुनेछ।
आईपीएलको शीर्ष चारमा स्थान बनाउन आजको खेल दुवै टोलीका लागि निकै महत्त्वपूर्ण छ।
आईपीएलको शीर्ष तीनमा रहेका टोलीले प्लेअफमा स्थान बनाइसकेका छन्।
आज दिल्लीलाई हराउन सके मुम्बईले प्लेअफमा स्थान सुरक्षित गर्नेछ।
तर हारेमा मुम्बई अन्य खेलको नतिजासँगै आफ्नो अन्तिम खेलमा निर्भर हुनुपर्नेछ।
मुम्बई पराजित भए दिल्ली र पन्जाब किंग्सबीचको नतिजा कुर्नुपर्नेछ।
त्यसैले मुम्बई आजको खेलमा जित्ने रणनीतिका साथ मैदान उत्रनेछ।
दिल्लीलाई भने प्लेअफमा स्थान बनाउन दुई जित आवश्यक छ। आजको खेल हारे दिल्ली प्लेअफ दौडबाटै बाहिरिनेछ।
दुवै टोली लिग चरणको अन्तिम खेलमा पन्जाब किंग्ससँग भिड्नेछन्।
उक्त खेलमा नतिजा मात्र हैन, नेट रनरेट पनि उत्तिकै महत्त्वपूर्ण हुनेछ।
अंक तालिकामा मुम्बई १२ खेलबाट १४ अंक बनाउँदै चौथो स्थानमा छ।
समान खेलबाट दिल्ली १३ अंकमा पाचौँ स्थानमा छ। गुजरात, रोयल च्यालेन्जर्स बैंग्लोर र पन्जाब किंग्सले शीर्ष तीनमा रहँदै यसअघि नै प्लेअफमा स्थान बनाइसकेका छन्।
Shares

प्रतिक्रिया