खेल


सिकागोदेखि सगरमाथासम्म दौडिसकेकी स्वरूपाको लन्डन म्याराथन अनुभव

विश्वका ६ वटै ठूला म्याराथन पूरा गरेकी पहिलो नेपाली महिलाको कथा

प्रजय शुक्ल
बैशाख ३१, २०८२ बुधबार १६:३७, लन्डन

लन्डन म्याराथन २०२५ को चिसो बिहान। ऐतिहासिक लन्डन सहरका गल्ली र सडकहरू हजारौँ दौडप्रेमीहरूबाट भरिएका थिए। कसैको आँखामा व्यक्तिगत कीर्तिमानको सपना थियो, कसैको पहिलोपटक म्याराथन पार गर्ने लक्ष्य।

ती हजारौँ अनुहारहरूमध्ये एउटी नेपाली धाविका स्वरूपा खड्का आत्मविश्वास, संकल्प र अनुशासनसहित अगाडि बढिरहेकी थिइन्।

लन्डन म्याराथन संसारकै सबैभन्दा प्रतिष्ठित दौड हो, जहाँ वर्षेनि हजारौँको सहभागिता हुन्छ। यसपालि झण्डै ६० हजार धावक दौडिरहेका थिए। तर स्वरूपाको गन्तव्य केवल आफ्नो समय सुधार्नु थिएन, उनी त सयौँ धावकहरूको प्रेरक बनिरहेकी थिइन्। उनी अगाडि थिइन्, तर अरूलाई साथ दिँदै। ३ घण्टा ३० मिनेटभित्र दौड पूरा गर्नेहरूको समूहको नेतृत्व गर्दै थिइन्।

नेपाली दौड इतिहासमा स्वरूपा खड्का एक परिचित नाम हो। १२ वर्षअघि तीव्र गतिकी नेपाली धाविकाको रूपमा उनको चर्चा सर्वत्र थियो। सन् २०१३ को सिकागो म्याराथनमा उनले २ घण्टा ५७ मिनेट १० सेकेन्डमा दौड समाप्त गर्दै नेपाली महिलाको तर्फबाट पहिलोपटक ३ घण्टाभित्र म्याराथन पूरा गर्ने कीर्तिमान बनाइन्। त्यो उपलब्धि केवल कीर्तिमान थिएन, नेपाली नारीको शक्ति र सम्भावनाको सन्देश थियो— हामी सक्छौँ, हामी अगाडि बढ्न सक्छौँ।

उनी दौडेर कहिल्यै नथाक्ने एक जुझारु धाविका हुन्। विश्वका सबै ६ ठूला म्याराथनहरू पूरा गरेर कीर्तिमान राख्दै ऐतिहासिक मेडल प्राप्त गर्ने पहिलो नेपाली महिला पनि हुन्। आजसम्म उनले ५० भन्दा बढी म्याराथनहरू पूरा गरिसकेकी छिन्। 

लन्डन म्याराथनमा दौडन स्वरूपा लन्डन आएकी थिइन्। म उनलाई भेट्ने प्रयास गर्दै थिएँ। म्याराथन सकिएको केही दिनपछि बल्ल उनीसँग कुराकानी गर्ने समय जुर्‍यो। र उनीसँगको कुराकानीपछि दौडप्रति उनको भावनात्मक सम्बन्ध कति प्रगाढ छ भनेर बुझ्न पाएँ।

स्वरूपा अहिले अमेरिकामा बस्छिन्। तर उनको पुर्ख्यौली घर नेपालको काठमाडौं हो। उनी पढाइमा अब्बल र खेलकुदमा सक्रिय थिइन्। तर अमेरिका पुगेपछि आप्रवासी जीवनका संघर्ष र करिअरको दौडमा उनका सबै कुराहरू ओझेलमा परेका थिए। 

न्युयोर्क सहरको भीडभाड र व्यस्तताबीच उनले पहिलोपटक दौडन थालेकी थिइन्, केवल शरीर सक्रिय राख्नलाई। तर त्यो दौड उनको जीवनकै नयाँ अध्याय बन्न पुग्यो। 

‘दौड सुरु गर्दा मैले कहिल्यै कल्पना गरेको थिइनँ कि एक दिन यो मेरो परिचयको मुख्य हिस्सा बन्नेछ,’ स्वरूपा भन्छिन्।

२०१३ को सिकागो म्याराथन स्वरूपाको जीवनको एउटा ऐतिहासिक क्षण थियो। हाम्रो कुराकानीको क्रममा उक्त म्याराथनको सम्झना गर्दै उनले भनिन्, ‘मलाई त थाहा पनि थिएन, मैले राष्ट्रिय कीर्तिमान राखेँ भनेर। नेपालबाट साथीहरूले राष्ट्रिय कीर्तिमान हो भनेपछि मात्र मैले त्यो महसुस गरेँ।’

२०१३ को बोस्टन म्याराथन पनि उनको जीवनको एउटा अविस्मरणीय क्षण थियो। दौड सफलतापूर्वक सकिएपछि उनले फिनिस लाइन पार गरिसकेकी थिइन्, तर केही क्षणमै आतंकले त्यो दिनलाई कालो दिनमा बदलियो। बम विस्फोट भयो, त्यही स्थानमा जहाँ उनका परिवार ताली बजाउँदै उनलाई उत्साहित पारिरहेका थिए। 

स्वरूपा भन्छिन्, ‘त्यो सम्झदा अहिले पनि शरीर जिरिङ हुन्छ। त्यो घटनाले मलाई जीवन कति क्षणिक र अमूल्य हुँदोरहेछ भन्ने लाग्यो।’

दौडको यात्रामा सबै दिन सुन्दर र सहज हुँदैनन्। २०१७ को लन्डन म्याराथन स्वरूपाका लागि सबैभन्दा पीडादायक अनुभव बन्यो। त्यो म्याराथन स्वरूपाका लागि विशेष थियो। किनभने उनी लन्डन म्याराथ पूरा गरेर विश्वका सबै ६ ठूला म्याराथनहरू सफलतापूर्वक पूरा भएको रेकर्ड राख्न चाहन्थिन्। तर दुर्भाग्यवश, त्यो दौड अधुरो रह्यो। खुट्टाको चोटका कारण उनी फिनिस लाइनमा पुग्न सकिनन्। 

‘मैले २२ माइल पूरा गरिसकेको थिएँ, तर अचानक दाहिने खुट्टामा तीव्र पीडा भयो,’ उनी सम्झिन्छिन्, ‘खुट्टाले भार थेग्दैन भन्ने महसुस भयो अनि म भुइँमा थचक्कै बसेँ, त्यो पलमा म रोइरहेकी थिएँ— पीडाले मात्र होइन, मेरो सपना टुट्ने भो भनेर।’

तर स्वरूपाले हार मानिनन्। लन्डनमै हिप सर्जरी गराएपछि उनी एक वर्षसम्म दौडबाट टाढा रहिन्। तर २०१९ को बर्लिन म्याराथनमा उनी फर्किइन् र ३ घण्टा ६ मिनेट २० सेकेन्डमा दौड पूरा गर्दै पुनः आफूलाई प्रमाणित गरिन्।

अनि २०२३ मा फेरि उनी लन्डन म्याराथन फर्किन्। आफनो अधुरो सपना पूरा गर्न। र, २ घण्टा ५९ मिनेट ४३ सेकेन्डमा दौड समाप्त गर्दै उनी विश्वका सबै ६ ठूला म्याराथनहरू पूरा गर्ने पहिलो नेपाली महिला बनिन्। 

स्वरूपा भन्छिन्, ‘लामो समयको उपचारपछि त्यो मेरो पुनर्जन्म थियो।’

स्वरूपाले सगरमाथाको फेदीमा आयोजना गरिएको एभरेस्ट म्याराथन पनि पूरा गरिसकेकी छन्। उनका लागि २०२३ को एभरेस्ट म्याराथन एकदमै फरक अनुभव थियो। 

‘१७ हजार ५ सय फिट उचाइमा दौडने कुरा सामान्य हुँदैन। त्यहाँको हावा, चिसो, उचाइ, र चुनौतीले मलाई फेरि आफैँलाई चिनायो। दुई पटक लडेँ, हातमा चोट लाग्यो, तर अन्ततः गर्वसँग फिनिस लाइन पार गरेँ, देशको माटोमा दौड्नुको अनुभव नै बेग्लै हुन्छ,’ स्वरूपा मुस्कानसहित सुनाउँछिन्।

उनले दौड यात्रामा धेरै अनुभव र ज्ञान सँगालेकी छिन्। दौडकै क्रममा बायोमेकानिक्स, फिजियोलोजी, न्युट्रिसनजस्ता विषयहरूमा गहिरो अध्ययन गरेको उनी बताउँछिन्। 

‘मलाई गणित र विज्ञान साह्रै मन पर्छ। एक समय म डाक्टर बन्ने सपना बोकेर हिँडेको थिएँ, आज फाइनान्स क्षेत्रमा कार्यरत छु। तर दौडले मलाई फेरि विज्ञानमा फर्कायो। अहिले म उमेरसँगै महिलाहरूको शारीरिक प्रदर्शनमा हुने परिवर्तनमाथि पनि अनुसन्धान गर्दैछु,’ स्वरूपा भन्छिन्। 

उनी लन्डन म्याराथनमा नेपालीहरूको बाक्लो उपस्थितिले ज्यादै प्रसन्न छिन्। 

‘पहिले म यस्ता अन्तर्राष्ट्रिय म्याराथनमा प्रायः एक्लै नेपाली हुन्थेँ। अहिले सयौँ नेपाली समूह म्याराथन दौडेको देख्दा खुसी लाग्छ,’  उनी भन्छिन्।

यसपटकको लन्डन म्याराथनको अविस्मरणीय क्षण सम्झँदै स्वरूपा भावुक भइन्। 

‘अन्तिममा करिब ६०० मिटर मात्र बाँकी थियो, मैले आफ्नो वरिपरि ती सबै अनुहारहरू हेरेँ—थकित तर आँटले भरिएका। त्यो क्षण म उनीहरूको भरोसा थिएँ,’ उनी भन्छिन्, ‘फिनिस लाइन पार गरेपछि केही धावकहरू खुसीको आँसु खसाल्दै मलाई अँगालो हाल्न आए, उनीहरूले ‘तपाईं नभएको भए हामीले यो सपना पूरा गर्न सक्दैनथ्यौँ’ भन्दा मलाई सबैभन्दा ठूलो खुसी महसुस भयो।’ 

त्यो पल उनका लागि लागि सायद पदकभन्दा ठूलो उपाधि थियो। सामूहिक सपनाको उत्सव थियो। 

स्वरूपा भन्छिन्, ‘दौड केवल प्रतिस्पर्धा, पदक र शरीरको अभ्यास मात्र हैन, एकता, सहकार्य र मानवताको अनुभूति पनि हो।’ 

स्वरूपाको दौड केवल दौडको कथा होइन—यो आत्मबल, दृढ इच्छाशक्ति र सपनालाई पछ्याउने साहसको कथा हो। सयौँ माइलका कयौँ ट्रेल रेसहरू र अल्ट्रा म्याराथन गर्दा पनि उनी कहिल्यै थाकिनन्। नेपाली झण्डा बोकेर अन्तर्राष्ट्रिय मञ्चमा नेपाल चिनाउँदै उनी सधैँ दौडिरहिन्।

स्वरूपा खड्का आज केवल ‘म्याराथन धाविका’ मात्र होइनन्, हजारौं नेपाली महिलाहरूको सपना बन्न सफल भएकी छन्। र, हामी सबैका लागि एक गहिरो सत्य सावित गर्दैछिन्— सपना तिनैले पूरा गर्छन्, जसले हार्न जान्दैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad