दक्षिण एसियाका दुई छिमेकीबीच बढेको तनावका कारण चर्चित क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग स्थगित भएको छ।
भारतमा जारी लिग द बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)ले स्थगित गर्ने निर्णय गरेको हो।
यसको औपचारिक घोषणा गर्ने तयारी भएको एजेन्सीहरुले जनाएका छन्।
बिहीबार जारी लिगअन्तर्गत पन्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच सुरु भइसकेको अवस्थामा बीचैमा खेल रोकिएको थियो।
कश्मिरको पहलगाममा केही दिनअघि मुस्लिम चरमपन्थीहरुले दुई दर्जन बढी गैरमुस्लिम पर्यटकको हत्या गरेसँगै भारत र पाकिस्तानबीच तनाव सिर्जना भएको छ। त्यसको बदलामा आतंकवादी लुकेको भन्दै पाकिस्तानी भूमिमा भारतीय वायु सेनाले कारबाही चलाएको थियो।
त्यसविरुद्ध पाकिस्तानी सेनाले पनि गोलावारी, ड्रोन र क्षेप्यास्त्र आक्रमण गर्न थालेपछि दुई देशको सीमा क्षेत्र तनावपूर्ण बनिरहेको छ।
यसैलाई मध्यनजर गर्दै बदलिँदो परिस्थितिमा जारी लिगका बाँकी खेलहरु स्थगित गरिएका हुन्।
बिहीबार रद्द भएको समेत गरी हालसम्म जारी लिगमा ५८ खेल सकिएका छन्। अब ग्रुप स्टेजका १२ खेल बाँकी छन्।
Shares

प्रतिक्रिया