सत्तारुढ दल नेपाली कांग्रेसले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय छिटो टुंग्याउनुपर्नेमा जोड दिएको छ।
शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले टीआरसीसँग सम्बन्धित विषय छिटो टुंग्याउनुपर्नेमा जोड दिएको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुंगो लगाउन धेरै ढिला भइसकेको र सर्वोच्च अदालतको परिमार्जन गर्ने आदेशपछि कानुन टुंग्याएको भए पनि अझै पनि संरचना नबन्नाले काम अगाडि बढ्न नसकेको बताए।
संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुंग्याउन सम्बन्धित पक्ष, राजनीतिक दलहरूसँग छिटो कुराकानी गरेर अघि बढ्नुपर्ने बताए।
उनले भने, ‘टीआरसी र बेपत्ता पारिएका व्यक्तिहरू टुंगो लगाउनुपर्ने अवस्था छ। यो धेरै ढिलो भइसकेको अवस्था छ। कानुन हामीले टुंग्याऔँ। सर्वोच्च अदालतको जुन परिमार्जन गर्ने आदेशपछि। तर अझै पनि त्यो संरचना नबन्नाले काम अगाडि बढेको छैन। यसलाई चाँडो टुंग्याउनुपर्छ भन्ने हाम्रो निष्कर्ष छ।’
उनले थपे, ‘त्यही किसिमबाट सम्बन्धित स्टेक होल्डर दलहरूसँग पनि कुराकानी छिटो अगाडि बढाउने र यसलाई निष्पक्ष ढंगबाट बेपत्ता व्यक्तिहरूको विषयमा पनि, सत्य निरुपण र मेलमिलापका विषयमा पनि टुंगो लगाउने गरेर यो कमिसन अगाडि बढाउनुपर्छ भनेर एउटा निष्कर्ष निकालेका छौँ। जति पनि संवैधानिक संरचनाहरू छन्, त्यसलाई पनि पूर्ति गर्ने विषयलाई पनि सरकारले महत्वका साथ अघि बढाउनुपर्छ भन्नेकुरा गरेका छौँ।’
उनले संवैधानिक संरचनालाई पूर्ति गर्ने विषयलाई पनि सरकारले महत्त्वका साथ अघि बढाउनुपर्ने बताए।
Shares

प्रतिक्रिया